इन्टरनेट विस्तारमा साढे सात अर्ब रुपियाँभन्दा बढी खर्च

71

काठमाडौं। देशैभर ब्रोन्डब्यान्ड इन्टरनेट विस्तार गर्न सञ्चालित विभिन्न परियोजनामा साढे सात अर्ब रुपियाँभन्दा बढी खर्च भएको छ ।

ब्रोडब्यान्ड नेटवर्क निर्माण गर्ने, इन्टरनेट जडान गर्ने र निश्चित समयसम्मका लागि मर्मतसम्भार सेवासमेत दिने गरी सञ्चालित ती परियोजनामा करिब सात अर्ब ५४ करोड रुपैयाँ खर्च भइसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । दूरसञ्चार पूर्वाधार निर्माण गर्ने उद्देश्यका साथ प्राधिकरण मातहतमा रहेको ग्रामीण दूरसञ्चार विकास कोषमार्फत उक्त खर्च भएको हो ।

उक्त कोषअन्तर्गत चारवटा परियोजना सञ्चालित छन्, जसमध्ये ७४ जिल्लाका सबै स्थानीय तहमा रहेका कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड नेटवर्क निर्माण गर्ने र इन्टरनेट जडान गर्ने परियोजना सम्पन्न भइसकेको छ ।

यस परियोजनाका लागि कोषमार्फत पाँच अर्ब ६७ करोड ४३ लाख रुपैयाँ विनियोजन भएकामा असोज मसान्तसम्म पाँच अर्ब २९ करोड ८७ लाख रुपैयाँ सेवा प्रदायकलाई भुक्तानी दिइसकेको प्राधिकरणले जनाएको छ ।

यो परियोजनाअन्तर्गत सम्बन्धित १६ हजार २०८ सार्वजनिक निकायमा इन्टरनेट जडान भइसकेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here