म्याराडोनाले अर्जेन्टिनाको कप्तानी गर्दै विश्वकप जित्दा हरेक मिनेट खेले

68

काठमाडौं । मेक्सिको फिफा विश्वकप फुटबल दोस्रो पटक आयोजना गर्ने पहिलो राष्ट्र बन्यो । यसअघि १९७० मा मेक्सिकोले पहिलो पटक आयोजना गरेको थियो । सुरुमा कोलोम्बियालाई विश्वकप आयोजक तोकिएको थियो तर आर्थिक कारण देखाउँदै उसले नाम फिर्ता लियो ।

त्यसपछि क्यानडा, अमेरिका र मेक्सिकोले विश्वकप आयोजनामा दाबी गरेको थियो । फिफाले मेक्सिकोलाई आयोजक तोकेको थियो ।

विश्वव्यापी रुपमा विश्वकपको चर्चा बढेपछि विश्वकपका लागि छनोटमा प्रतिस्पर्धा गर्ने टिम संख्या बढेर १२१ पुग्यो । अफ्रिका र एसिया लाई दुई–दुई कोटा दिइएको थियो । युरोपबाट १४ र  अमेरिकाबाट ४ कोटा थियो ।

क्यानडा, डेनमार्क र इराकले मेक्सिकोबाटै विश्वकपमा डेब्यू गरे ।

२५ वर्षीय म्याराडोनाले अर्जेन्टिनाको कप्तानी गर्दै विश्वकप जित्दा हरेक मिनेट खेले । उनले ५ गोल गर्नुका साथै ५ असिस्ट समेत गरे ।

डेनमार्कले शानदार डेब्यू गर्दै समूह चरणका सबै खेल जित्यो । तर, दोस्रो चरणमा स्पेनसँग पराजित हुँदै बाहिरियो । साविक विजेता इटली दोस्रो चरणमा फ्रान्ससँग पराजित हुँदै बाहिरियो ।

फ्रान्स, बेल्जियम र पश्चिम जर्मनी पेनाल्टी सुटआउटमा जित निकाल्दै सेमिफाइनल पुगे । अर्जेन्टिना र इंग्ल्याण्डबीचको क्वाटरफाइनल भने रेगुलर समयमै सकियो । यो खेल उत्साहजनक रह्यो ।

म्याराडोनाले पहिलो गोल हातले गरे जुन हेडले गरेजस्तो थियो । पछि यसलाई ह्याण्ड अफ गड अर्थात भगवानको हात भनियो ।

दोस्रो गोल सन् २००२ मा फिफा वेवसाइट गोल अफ दी सेन्चुरी नै बनेको थियो । म्याराडोनाले मैदानको बिच भागबाट बल अगाडि बढाउँदै इंग्ल्याण्डका पाँच खेलाडीलाई छलाउँदै र गोलकिपरलाई पनि जिल्याउँदै गोल गरे । यो खेल सन् १९८२ मा दुई राष्ट्रबीच भएको फकल्याण्ड युद्धलगत्तै भएको थियो।

अर्जेन्टिनाले फाइनलमा पश्चिम जर्मनीलाई पराजित गर्दै उपाधि जित्यो । सुरुमा अर्जेन्टिनाले दुई गोलको अग्रता बनाएको थियो । तर जर्मनीले पुनरागमन गर्यो । तर, खेल सकिन ६ मिनेट बाँकी छँदा म्याराडोनाको पासमा जोर्ज लुइस बुरचागाले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जितसहित दोस्रो पटक विश्वकप उपाधि जिताए ।

यस विश्वकपको सबैभन्दा उत्कृष्ट क्षण भनेकै म्याराडोनाको मनमोहक प्रदर्शन रह्यो । यस्तै क्यानडा, डेनमार्क र इरानको डेब्यू पनि उल्लेखनीय पक्ष बन्यो । मेक्सिकन वेभको सुरुवात पनि यसै विश्वकपबाट भयो । तर, आयोजक छनोटको विवादले पनि चर्चा पायो ।

तथ्यांकमा विश्वकप १९८६

आयोजकः मेक्सिको
टिमः २४
फम्र्याटः समूह चरण, नकआउट
खेलः ५२
गोलः १३२
विजेताः अर्जेन्टिना
उपविजेताः पश्चिम जर्मनी
गोल्डेन बुटः ग्यारी लिनेकर (इंग्ल्याण्ड)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here