महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिदै ललितपुर महानगर

80

ललितपुर । ललितपुर  महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने भएको छ । सोमवार ललितपुर महानगरपालिकाले आयोजना गरेको स्वयंसेवक सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विगतमा महानगरपालिकाले शुरु गरेको महिला स्वयंसेविका अक्षयकोषलाई यस वर्षदेखि निरन्तरता दिने जानकारी दिए ।

मेयर महर्जनले अक्षयकोषको निरन्तरता नभएको भन्दै अब भने बजेटको व्यवस्थापन गरेर निरन्तरता दिइने बताए । आगामी वर्ष अक्षयकोषको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने पनि उनको भनाइ छ ।

‘यहाँ हामी जितेर आउनुभन्दा पहिला यहाँ महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषको व्यवस्थापन थियो । के कति कारणले हो त्यसको निरन्तरता भएन । अब हामीले यो वर्षदेखि महिला स्वास्थ्य स्वयमसेविका अक्षयकोषलाई हामीले निरन्तरता गर्छौँ । त्यो बेला कति पैसाको व्यवस्थापन गरिएको छ, त्यो पैसा हामी अब उप्रान्त यो अक्षयकोषमा हामी व्यवस्थापन गर्छौँ । अर्को वर्ष तपाईंहरूले यसको रिपोर्ट पाउनुहुनेछ’, महर्जनले भने । ललितपुर महानगरपालिकाले १९ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस तथा विश्व स्वयंसेवक दिवस मनाएको छ । सो अवसरमा महानगरले स्वयंसेवकहरूलाई सम्मान तथा प्रोत्साहनसमेत गरेको थियो ।

स्वयंसेविकाहरूलाई सम्मान गर्दै प्रमुख महर्जनले कोभिड १९ महामारी र डेंगु संक्रमणको समयमा स्वयंसेविकाहरूले महत्वपूर्ण भूमिका खेलेको भन्दै उच्च प्रशंसा गरे । निरन्तर रूपमा हुने खोप कार्यक्रम र भर्खरै सम्पन्न भएको निर्वाचनमा मतदाता शिक्षाको कार्यक्रममा पनि स्वयंसेविकाहरूको उल्लेख्य योगदान रहेको भन्दै धन्यवाद ज्ञापन गरे । महानगरपालिका प्रमुख महर्जनले गत स्थानीय निर्वाचनमा आफूले जित्नुको मुख्य कारण नै स्वयंसेविकहरू भएको बताए । उनले स्वयंसेवकहरूले गरेको प्रभावकारी कामका कारण नै आफूलाई मत दिएर जिताएको उनको भनाइ थियो । ‘मैले भन्नैपर्छ गएको स्थानीय चुनावमा मलगायत साथीहरू जित्नुको मुख्य कारण तपाईंहरू नै हो ।

तपाईंहरूले कोभिड १९, डेंगुको बेलामा जति सेवा गर्नुभयो त्यो सेवालाई सम्मान गरेर, मेरो नेतृत्वमा भयो त्यो काम । तसर्थ चिरिबाबु तिमीले जित्नुपर्छ भनेर मलाई भोट दिए । कुरा यही हो । यसका निम्ति तपाईहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहेँ’, महर्जनले भने, ‘कोभिड आउनु अगाडि मैले यही मञ्चबाट घोषणा गरेको थिएँ, तपाईंलाई म पुरस्कारको व्यवस्थापन गर्छु भनेर, आज उत्कृष्ट टिमलाई हामीले एक लाख रुपैयाँ पुरस्कारको व्यवस्थापन गरेर पुरस्कार दियौँ । यहाँहरूले महानगरप्रति गर्नुभएको सेवा, त्याग छ, त्यसको हामी उच्चस्तरबाट प्रशंसा गर्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here