रास्वपाभन्दा माके ४३ हजार १४९ मतले मात्र अगाडि

42

काठमाडौं  । प्रतिनिधिसभाको समानुपातिकतर्फ माओवादी केन्द्र तेस्रो दल बनेको छ। निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार मंगलबार १ करोड ५ लाख २३ हजार ७१३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा माओवादी केन्द्र ४३ हजार १४९ मतले मात्र अगाडि रहेको छ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ११ लाख ७० हजार २६२ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २७ हजार ११३ मत ल्याएर चौंथो स्थान कायम गरेको हो।

एमालेले २८ लाख ३१ हजार २७६ मत ल्याएर पहिलो बनेको छ। नेपाली कांग्रेस २७ लाख ४ हजार ४२७ मत ल्याएर दोस्रो स्थानमा रहेको छ। सत्ता गठबन्धनमा आवद्ध रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले थ्रेस होल्ड नकटाउँदा राष्ट्रिय दल बन्न सकेको छैन। एसले हालसम्म २ लाख ९७ हजार ८४३ मत प्राप्त गरेको छ। राष्ट्रिय दल बन्न समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत मत कटाउनुपर्ने प्रावधान छ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८७ हजार ८५५, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ५५, जनमत पार्टीले ३ लाख ९४ हजार ५९९ मत पाएका छन्।  नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ७०६, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १ लाख ६७ हजार ३४० मत ल्याएका छन्।

मतगणनाको परिणाम आइसकेपछि आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्नेछ। सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here