सिंहदरबारमा उच्च क्षमताको चार्जिङ स्टेशन निर्माण हुने

45

काठमाडौं  । मुलुकको प्रुमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ स्टेशन निर्माण हुने भएको छ। प्रमुख निकाय भए पनि विद्युतीय सवारीसाधनका लागि उच्च क्षमताको चार्जिङ स्टेशन थिएन। हाल सिंहदरबारमा चार्जिङ स्टेशन भए पनि तर थोरै क्षमताका थिए।

त्यसको अभाव पूर्ति गर्न सरकारले ३० किलोवाट क्षमताका ५ वटा चार्जिङ स्टेशन निर्माण हुने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको  ‘एनर्जी डेभलपमेन्ट डिकेड एक्सन प्लान प्रोजेक्ट’ले चार्जिङ स्टेशन निर्माण गर्न लागेको हो।

आयोजना हेर्दै आएका सिनियर डिभिजनल इञ्जिनियर शालिकराम भण्डारीका अनुसार ३० किलोवाट क्षमताका डिसी चार्जिङ स्टेशन निर्माण गर्न लागिएको हो। मन्त्रालय र आसपासका स्थानमा ती स्टेशन निर्माण हुनेछन्। पछिल्ला दिनमा विद्युतीय सवारीसाधनको प्रयोग बढे पनि चार्जिङ स्टेशन निर्माणले अपेक्षित गति लिन सकेको छैन।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेका अधिकांश चार्जिङ स्टेशन पनि अन्तिम चरणमा पुगेका छन्। कूल ५१ वटा त्यस्ता स्टेशन प्राधिकरणले निर्माण गरिरहेको हो। त्यसमध्ये १२ वटा सञ्चालनमा आएका र ३२ वटाको जडान सकिएको छ। सिंहदरबारभित्रै द्रूत चार्जिङ स्टेशन निर्माण भएपछि विद्युतीय सवारीसाधन प्रयोग अझ बढ्ने सिडिई भण्डारीले जानकारी दिए।

चार्जिङ स्टेशन निर्माणका लागि मन्त्रालयले आज बोलपत्रमार्फत् प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। स्टेशन निर्माणका लागि निजी वा सार्वजनिक संस्थाले आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।  रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here