नेपाल ललितकलाद्वारा मूर्तिकलाका चार पुस्तक सार्वजनिक

180

काठमाडौं । मूर्तिकलाको इतिहास, विगतदेखि वर्तमानसम्मका आयाम, यसमै समर्पित मूर्तिकारहरूको जीवनीलाई समेटिएको मूर्तिकलाका चार पुस्तक सार्वजनिक भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागद्वारा प्रकाशित गरिएको ‘नेपालका प्रशिद्ध परम्परागत मूर्तिकार’, ‘मूर्तिकारः सोधमूलक जीवनी र अन्तर्वार्ता’ र ‘मूर्तिकलाः आयामिक रुपान्तरण’ र ‘विचार र प्रस्तुतिमा नेपाली आधुनिक मूर्तिकारहरू’ चारैवटा पुस्तकलाई क्रमशः लेखकहरू रमेश खनाल, एन.बी. गुरुङ‚ ताराप्रसाद ओझा र अगम श्रेष्ठले लेखेका हुन् ।

सोमबार नक्सालस्थित प्रतिष्ठानमा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, मूर्तिकला विभाग प्रमुख प्राज्ञ लालकाजी लामा, नेकपा एमालेका नेता रघुजी पन्त, प्राज्ञ सुषमा राजभण्डारी लगायतकाले चारैवटा पुस्तकहरूको लोकार्पण गरे ।

चारैवटा पुस्तकबारे बोल्दै लेखक एवं समालोचक यामप्रसाद शर्माले नेपालमा मूर्तिकलाको हिजोको इतिहास, विचार, दृष्टिकोण, धर्म, मूर्तिकलाको सिद्धान्त, परम्परादेखि आधुनिकसम्मको शैली, हाम्रो कलाकारिताको तह र मूर्तिकारहरूबारे प्रकाशमा ल्याएको उल्लेख गरे । उनका अनुसार चारै वटा पुस्तकमा परम्परागत तथा समकालीन मूर्तिकला र कलाकारको विचार, शैलिगत पक्ष र पहिचानलाई विशेष स्थान दिएका छन् ।

नेपालमा कलासम्बन्धी पुस्तकहरू प्रकाशन न्यून रहेको समयमा चारवटा पुस्तकहरू एकै पटक प्रकाशनमा ल्याएर विभाग र प्रतिष्ठानले निकै राम्रो कार्यलाई अगाडि बढाएको कलाकार तथा पूर्वउपकुलपति ठाकुरप्रपाद मैनालीले बताए । ‘कलाकारहरू पढेका हुँदैनन्, उनीहरूलाई लेख्न आउँदैन भन्ने आममान्छेको सोच छ । यसरी किताब आउनु राम्रो हो,’ उनले भने, ‘थुप्रै कलाकारहरू हुनुहुन्छ । सबैले लेख्ने र अंग्रेजीमा पनि पुस्तक निकाल्ने र रुपान्तरण गर्नुपर्छ ।’ भोलिका दिनमा प्रतिष्ठानबाट अझै धेरै पुस्तकहरू आउने आशा उनले व्यक्त गरे ।

चित्रकला, संगीतजस्ता विधाले मानिसको इतिहासका कालखण्ड बताउने भएकाले यसलाई तथ्यपरक रुपमा पुस्तान्तरण गर्नका लागि पनि किताबमा ल्याउन जरुरी रहेको नेता पन्तले बताए । उनले भने, ‘हामीसँग कला र कलाकारहरूको इतिहास छ तर बाहिर देखाउने एउटा म्युजियम छैन । त्यसैले हामीले कलाकारे निरन्तर बोल्ने, सोच्ने र लेख्ने गरिरहनुपर्छ ।’

प्रतिष्ठानको जारी कार्यकालमा विभागलाई जम्मा २० लाख रुपैयाँ बजेट आएकोमा आफ्नो प्रयासमा विभिन्न पालिकाहरूसँग सहकार्य गर्दै लगभग २ करोड २५ लाखबराबरको काम गरेको विभाग प्रमुख लामाले बताए । बजेट अभावकै कारण अरनिकोको मूर्तिकला योजना भने अधुरै रहेकोमा उनले दुःख व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here