विमान दुर्घटनाको अध्ययन गर्न एटीआर निर्माता कम्पनीको विज्ञ टोली नेपालमा

41

काठमाडौं । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ।

एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए।

‘एटीआर निर्माता कम्पनीबाट काठमाडौं आएको नौ सदस्यीय विज्ञ टोली आजै पोखरा पुगिसकेको छ,’ उनले भने, ‘विमान दुर्घटनापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चासो बढेको छ।’

सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिसकेको छ।

आयोगका सदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा रहेका छन्। साथै हवाई मर्मत विज्ञ एकराज जङ्ग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्। आयोगले जाँचको काम सुरु गरिसकेको छ।

विमान दुर्घटनामा परेका ७० जनाको शव प्राप्त भइसकेको छ भने बाँकी दुई जनाको खोजी जारी छ।  रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here