गृहमन्त्री लामिछाने अमेरिका र नेपालको नागरिकता लिएको विवादमा मुछिए

68

काठमाडौं । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे प्रतिनिधिसभामा कुरा उठेको छ। उपसभामुखको निर्वाचनको शनिवार बसेको बैठकको सुरुमै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले यसबारे प्रश्न गरे।

सांसद खतिवडाले संसद्मा धेरै कुराहरुको छानबिनको जरुरी रहेको भन्दै नागरिकता र पासपोर्टको बारेमा गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए। उनले गृहमन्त्रीको जवाफको लागि सभामुखबाट रुलिङको माग समेत गरे।

‘यो संसद्मा धेरै कुराहरुको छानबिनको जरुरी छ सभामुख महोदय। कसैको नागरिकताको बारेमा छानबिन होला, कसैको पासपोर्टको बारेमा छानबिन होला, यो विषयमा गृहमन्त्रीको जवाफ चाहियो। जवाफको लागि सभामुखबाट रुलिङको आवश्यकता देखियो,’ खतिवडाले भने।

गृहमन्त्री लामिछाने अमेरिका र नेपालको नागरिकता लिएको विवादमा मुछिएका छन्। लामिछानेको नागरिकता विवाद जिल्ला प्रशासन कार्यालय काठमाडौंमा समेत पुगिसकेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता र राहदानीको विषयको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र पठाएको थियो। त्यसपछि काठमाडौं प्रहरीले अनुसन्धान पनि सुरु गरेको थियो।

सोही विषयमा लामिछानेको सांसद पद खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट समेत दायर भएको थियो। लामिछानेको सांसद पद खारेजी तथा उनलाई पाँच वर्ष जेल हाल्न माग गर्दै युवराज पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here