काठमाडौं । व्यवसाय गर्ने वातावरण नभएको र ऋणमा डुबेको भन्दै इलामका प्रेम आचार्यले आत्मदाह गरेको एक दिनपछि विराटनगरका एक व्यवसायीले ‘सुसाइट नोट’ लेखेर आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा विराटनगरका इलेक्ट्रिक व्यवसायी मोहनप्रसाद न्यौपाने रहेका छन् । उनले बुधबार आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
५७ वर्षिय न्यौपाने विराटनगर–३, पोखरीया स्थित आफ्नै घरको बाथरुममा बुधबार घाँटीमा डोरीको पासो लगाएर आत्महत्या गरेका थिए । न्यौपाने विराटनगरको शनि मन्दिर रोडमा शिखर इलेक्ट्रिक पसल संचालन गरिरहेका थिए ।
उनले आत्महत्या गर्नुमा बैंकको ताकेता रहेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विराटनगर भन्सार कार्यालयले आज आयोजना गरेको कार्यक्रममा रिजालले बैंकले ताकेता माथि ताकेता गर्दा न्यौपानेले आत्महत्या गरेको दाबी गरेका हुन् ।


















