थप श्रमिक लैजानेबारे नेपाल–मलेसियाबीच आज छलफल हुँदै

63

काठमाडौं । नेपाल र मलेसियाबीच थप श्रमिक पठाउनेबारे छलफल हुने भएको छ । यसका लागि मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको नेतृत्वको टोली बिहीबार राति नेपाल आइपुगेको छ ।

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा श्रमिक पठाउनेमा नेपाल प्रमुख स्रोत देश भएकाले नयाँ व्यवस्था र परिस्थितिअनुसार नेपाली श्रमिक लैजाने वातावरण बनाउन मलेसियाको टोली आएको जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँग नेपाल र मलेसियाबीचको श्रम सम्बन्धका बारेमा औपचारिक छलफल हुनेछ ।

राजदूत पौडेलले भने, “कोरोना महामारीमा बन्द भएको मलेसियाका धेरै उद्योग, व्यवसाय खुलेका छन्, मलेसियालाई एकै पटक पाँच लाख श्रमिक चाहिएको छ, त्यस कारण अहिलेको माग र परिस्थितिअनुसार नेपाली श्रमिक लैजाने विषयलाई मलेसियाको टोलीले भ्रमणको प्राथमिकतामा राखेको छ ।”

राजदूत पौडेलका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीपछि मन्दी छाएको मलेसियाको अर्थतन्त्रले अहिले गति लिइरहेको छ । महामारीका कारण बन्द भएका कम्पनी खुल्ने र नयाँ कम्पनीसमेत धमाधम खुलिरहेकाले मलेसियाले हाल ठूलो सङ्ख्यामा श्रमिकको अभाव खेपिरहेको राजदूत पौडेलको भनाइ छ ।

श्रम बजारमा बढ्दो श्रमिक अभावलाई पूरा गर्न मलेसियाले विभिन्न नीति तथा कार्यक्रम ल्याइरहेको जानकारी दिँदै राजदूत पौडेलले मलेसियामा जतिसक्दो चाँडो आफ्नो श्रम बजारमा श्रमिकको अभाव पूरा गर्ने योजनामा मलेसियाको टोलीको भ्रमण केन्द्रित हुने जानकारी दिए । यही कार्यक्रमअन्तर्गत नै गृहमन्त्रीसहितको उच्चस्तरीय टोली नेपाल आएको हो । राजदूत पौडेलले मलेसियाको गृहमन्त्रीस्तरीय नेपाल भ्रमण १४ वर्षपछि हुन लागेको पनि उनले जानकारी दिए ।

मलेसियाले ल्याएको कार्यक्रममा विभिन्न कारणले कागजातविहीन भएर काम गरिरहेका श्रमिकलाई आममाफीमार्फत पुनः कानुनी रूपमा काम गर्ने अवसर प्रदान गर्ने एउटा कार्यक्रम रहेको छ । मलेसियाको उच्चस्तरीय भ्रमणबाट मलेसियामा वर्षौदेखि कागजातविहीन भएर काम गरिरहेका नेपालीलाई आममाफी दिएर घर फर्काउने वा काम गर्न चाहनेलाई विधिवत् गराएर कामको व्यवस्था हुने रादजूत पौडेलले बताए । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here