नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा जान अब कसैले रोक्न सकिदैन : निर्देशक दाहाल

105

दुबई । यूएईको दुबईमा जारी नेपाली सिनेमा फेस्टको तेस्रो दिन ‘नेपाली फिल्मको प्रवर्द्धन र विदेशी बजार’ विषयमा कलाकार, निर्माता, वितरक र प्रदर्शकबीच छलफल भएको छ ।

उक्त ‘प्यानल डिस्कसन’मा क्यूएफएक्स निर्देशक तथा एप्पल इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिन, निर्देशक भूषण दाहाल, अभिनेत्री ऋचा शर्मा र मध्यपूर्व वितरक रमेश ढकालबीच छलफल चल्यो ।

कागबेनी फेम्ड निर्देशक दाहालले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा जान अब कसैले रोक्न नसक्ने बताए । अब नेपाली फिल्मले स्वदेश र विदेशमा पहिचान खोज्नुपर्ने बेला आएको उनले बताए ।

‘हामीलाई अब रोक्ने चीज केही पनि छैन । विदेशमा जान हामीलाई आफैंले आफैंलाई रोकेका छौं,’ उनले भने । नेपाली फिल्मको माग र आपूर्तिबीच सन्तुलन नमिलेको भन्दै दाहालले फिल्म मात्र नभएर विदेशमा नेपालको अन्य क्षेत्रको उपस्थिति पनि लाजमर्दो भएको बताए ।

‘हामीले खाना र संस्कृतिलाई प्रवद्र्धन गर्न सकेका छैनौं । फिल्म त टाढा कुरा भयो । यो कुरा चलचित्र विकास बोर्डले बुझ्नुपर्छ,’ उनले भने ।

क्यूएफएक्स सिनेमाजका निर्देशक तथा प्रदर्शक उद्दिनले चीन र भारतजस्ता उदयीमान फिल्म बजारहरु नेपालका छिमेकी हुनुले फिल्म बजारको भविष्य राम्रो रहेको बताए । ‘अब हामीले मौलिक कथा मात्र भनौं । बजारको सम्भावना राम्रो छ,’ उनले भने ।

फिल्मबारेको सचेतना दर्शकलाई नहुने तर यसलाई लिएर निर्माता मात्र तात्ने गरेको अनुभव उनले बाँडे । ‘नेपालमा निर्मातालाई मात्र फिल्मलाई लिएर गर्मी हुने गरेको छ । दर्शकलाई हुँदैन । राम्रोसँग प्रचार गरेको भए ऐना झ्यालको पुतलीले राम्रो हाइप पाउँथ्यो,’ उनले भने ।

नेपाली फिल्मले देशभित्रको बजारलाई पनि खोज्नुपर्ने बेला आएको उनले बताए । फिल्म निर्माण पैसाले मात्र नहुने भएर अध्ययन र सिर्जना महत्वपूर्ण हुने उनले बताए ।

अभिनेत्री ऋचा शर्माले आफ्ना लागि फिल्म कलाको व्यापार रहेको बताइन् । आफू डिजिटल पुस्ताको अभिनेत्री भएपनि सन् २०१० मा रिलिज भएको आफू निर्मित फिल्म भिजागर्लदेखि हालै रिलिज भएको चि मुसी चिसम्म आइपुग्दा आफू फिल्मको ‘थट प्रोसेस’मा अघि बढ्न नपाएको उनले बताइन् ।

नेपाली फिल्म शोको आधारमा मात्र रिलिज भएको भन्दै अभिनेत्री शर्माले विदेशमा नेपाली फिल्मको लागि तयारी गर्नु भनेको फिल्म नै राम्रो हुनुपर्ने बताइन् । कलाकारलाई स्वअभिमुखीकरणको संकट परेको र विदेशमा आफ्नो देशलाई प्रतिनिधित्व गर्ने सवालमा पनि कलाकारले त्यो व्यक्तित्व विकास गर्न नसकेको उनको धारणा थियो ।

बुसान, कान्स र सनडान्सजस्ता ठूला फिल्म फेस्टिभलमा समेत नेपाली निर्माता र प्रदर्शकले भाग लिनुपर्ने बताउँदै ऋचाले पछिल्लो समय नेपाली फिल्मको कथावाचनमा प्रगति भएको सुनाइन् ।

‘म २० वर्षमा हुँदा ३० वर्षका कलाकार हराउँदै जानुभएको थियो । मैले लिड रोलको कुरा गरेकी छैन । बरु जे रोल पाउनुहुन्छ, त्यसलाई राम्रोसँग निर्वाह गर्नुपर्छ भन्ने लाग्छ,’ ऋचा भन्छिन् ।

मध्यपूर्वमा नेपाली फिल्मको वितरण गर्दै आएका रमेश ढकालले सम्बन्धित मुलुकको प्रक्रियाअनुसार फिल्म वितरण गर्ने बताए । सामाजिक सञ्जालका पृष्ठ र समूहलाई आफूले फिल्म प्रचारको माध्यम बनाइरहेको भन्दै उनले नेपाली रेस्टुरेन्टदेखि घुमघाम हुने ठाउँसम्म प्रचार गरिरहेको बताए ।

चलचित्र विकास बोर्डको आयोजना र सूर्य कर्पोरेसनको व्यवस्थापनमा दुबईमा फेस्टिभल भइरहेको छ । फेस्टिभलको अन्तिम दिन बुधबार यस वर्ष ओस्कार अवार्डमा सिफारिस भएको फिल्म ऐना झ्यालको पुतली प्रदर्शन हुँदैछ भने विदेशी फिल्म निर्माता पनि सहभागी हुने कार्यक्रम छ ।

बुधबार नेपालबाट पुगेका कलाकारले नेपाली मौलिक पोशाकका साथ रेडकार्पेटमा सहभागिता जनाउँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here