काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रौतहटको मौलापुरमा आफ्ना कर्मचारीमाथि भएको सांघातिक आक्रमणको विरोध गरेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले एक विज्ञप्ति जारी गर्दै गत शुक्रबार त्रिभुवन शाह उर्फ अमन लाल शाह र धीरज पाण्डेको नेतृत्वको २०/३० जनाको समूहले नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रबाट सहायक इन्जिनियर महेन्द्र चौधरीलाई अपहरण शैलीमा जबरजस्ती चार पांग्रे गाडीमा राखेर लगेको बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणको प्रचलित विनियमावली विपरित चौधरीलाई अनधिकृत रुपमा विद्युत् लाइन जडान गर्न लगाउन खोज्दा नमानेपछि कुटपिट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले बताएको छ । ‘यस घटना प्रति जिम्मेवार व्यक्तिहरुलाई हदै सम्मको कारवाहीको लागि प्राधिकरणको स्थानीय कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भईसकेको छ । विद्युत जस्तो अत्यावश्यक सेवामा खटिने इमान्दार राष्ट्रसेवक कर्मचारी माथि भएको दुर्व्वहारप्रति नेपाल विद्युत प्राधिकरण गहिरो खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ,‘सो घटनाका दोषीहरुलाई हदैसम्मको कारवाही गर्न सम्बन्धीत निकाय समक्ष जोडदार माग गर्दछ ।’


















