राष्ट्रपति मनोनयन गर्ने दिन नजिकिँदै गर्दा दलहरुबीच भेटवार्ता तिब्र

29

काठमाडौं । राष्ट्रपति चुनावको लागि मनोनयन गर्ने दिन नजिकिँदै गर्दा दलहरुबीच भेटवार्ता बाक्लिएको छ ।

मुख्य सत्तारुढ दल नेकपा एमालेले पुस १० को सहमति अनुसार आफ्नै दलबाट राष्ट्रपति उम्मेदवार बन्ने दाबी गरिरहेको छ भने प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग भएको समझदारी अनुसार कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्ने दाबी गर्दै आएको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिँदै आएको सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

बैठकमा राष्ट्रपतिमा कांग्रेस या एमाले कसलाई सघाउने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । हिजो मात्रै कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रपतिको चुनावमा सघाउन आग्रह गरेका छन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले यसबारे पार्टीभित्र छलफल गरेर निर्णय दिने बताएका छन् । गएको पुस १० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्ड अहिले राष्ट्रपतिको चुनावसँगै कांग्रेससँग सहकार्य अघि बढाउने योजनामा छन्। यो विषयमा कांग्रेस र माओवादीका नेताहरुबीच पटकपटक छलफल भइसकेको छ ।

राष्ट्रपतिमा माओवादीले सहयोग गरे प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउने कांग्रेसले आश्वासन दिँदै आएको छ । एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेला भएको सहमति अनुसार राष्ट्रपति आफ्नै दलले उठाएको उम्मेदवार हुनुपर्ने अडान लिइरहेका बेला कांग्रेसले एमालेसहितको ७ दलीय गठबन्धन भत्काएर पुरानै ब्युँताउने प्रयास गरिरहेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आउँदो २८ गते सकिँदैछ । नयाँ राष्ट्रपति चयनको लागि २५ गते चुनाव हुँदैछ भने आउँदो शनिवार १३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here