काठमाडौं । नेपाल सन् २०२४ मा हुने पेरिस ओलम्पिकका लागि महिला ओलम्पिक फुटबलको एसियाली छनोटको पहिलो चरणको आयोजकका रूपमा पक्का भएको छ । नेपाल छनोटको समूह ‘सी’ मा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँगै परेको छ । एएफसीले नेपाललाई समूह ‘सी’ को आयोजक राष्ट्रको रूपमा पुष्टि गरेको छ । प्यालेस्टाइन प्रतियोगिताबाट बाहिरिएपछि नेपालले भियतनाम र अफगानिस्तानसँग मात्र खेल्नेछ ।
तेस्रो राउन्डबाट शीर्ष दुई टोलीले पेरिस ओलम्पिक २०२४ मा आफ्नो स्थान सुरक्षित गर्नेछन् । छनोटको तयारीमा नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले फेब्रुअरी १५ मा भएको पहिलो खेल २–२ गोलको बराबरीमा खेलेको थियो भने फेब्रुअरी १८ मा भएको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।


















