गृह मन्त्रालयमा नेकपा एस पार्टीकाे दाबी

49

काठमाडौं । नेकपा एमालेले सरकार छाडेसँगै आठ दलीय गठबन्धनबाट मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको बेला गठबन्धनको चौथो ठूलो दल नेकपा एसले गृह मन्त्रालयमा दाबी गर्ने भएको छ ।

प्रधानमन्त्रीले राष्ट्रपति चुनावअघि नै संसदबाट विश्वासको मत लिने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहे पनि शीर्ष बैठकमा छलफल हुन बाँकी छ । गठबन्धन दलहरुबीच मन्त्रालयको संख्या बाँडफाँटमा अनौपचारिक कुराकानी भइसकेको छ ।

आज भोलिमै विश्वासको मत लिने तथा सरकारमा अन्य दल सहभागी हुनेबारे गठबन्धनको बैठक बोलाएर छलफल गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमालेले यसअघि सम्हालेको अर्थ मन्त्रालय कांग्रेसले पाउँदा गृहमन्त्रालय प्रधानमन्त्रीको दलले नै राख्ने प्रयास भइरहेको बेला नेकपा एसले पनि गृहमा दाबी गर्ने भएको हो । नेकपा एसका एक नेताले राष्ट्रपतिको अफर त्यागेर कांग्रेसलाई सघाएकाले गृहमा आफूहरूको स्वभाविक दाबी रहने बताए ।

ती नेताले भने– हामीले राष्ट्रपति बन्ने अवस्था हुँदा हुँदै पनि यही गठबन्धन ब्युँताउने भनेर छाडेको हो । राष्ट्रपति कांग्रेस, प्रधानमन्त्री माओवादी र उपराष्ट्रपति जसपाको भएपछि चौथो शक्तिले पावर शेयरिङमा सम्मानजनक भाग पाउनु स्वभाविक हो । कांग्रेसले अर्थ लिन्छ भने गृहमा हाम्रो दाबी हुन्छ ।

गठबन्धनमा आकारका हिसाबले ८८ सीटको कांग्रेसपछि ३२ सीटको माओवादी दोस्रो छ । तेस्रो जसपाको १२ र चौथो नेकपा एसको १० सीट छ भने जनमतको ६ सीट छ । लोसपा र नागरिक उन्मुक्ति चार चार सीटसहित छन् भने राजमोको एक सीट छ ।

गृह दाबी गरेको नेकपा एसबाट सो मन्त्रालयको प्रमुख दाबेदार उपमहासचिव प्रकाश ज्वाला देखिएका छन् । यद्यपि संसदीय दलका उपनेता राजेन्द्र पाण्डेको पनि दाबी हुने देखिन्छ । अहिले पाण्डे उपनेता र ज्वाला प्रमुख सचेतक छन् ।

नेकपा एसबाट चुनाव जितेका माधव नेपालबाहेक अरू ९ जना सांसद नै मन्त्रीका दाबेदार छन् । यसपटक नेकपा एसले बढीमा ३ मन्त्रालय पाउने सम्भावना छ । नत्र एक राज्यमन्त्रीसहित २ मन्त्रालयमा चित्त बुझाउनुपर्ने अवस्था छ ।

नेकपा एसबाट यसपटक भानुभक्त जोशी, प्रकाश ज्वाला मन्त्रीका प्रमुख दाबेदार देखिएका छन् । धनबहादुर बुढा यसअघि नेकपा एमाले विभाजनमा साथ दिएर पनि मन्त्री बन्न नपाएका सांसद हुन् । उनी यसपटक पनि डोल्पाबाट निर्वाचित भएर आएका छन् ।

त्यस्तै पछिल्लो समय केपी ओली र माधव नेपालको वार्ता गराउन भूमिका खेलेका किसान श्रेष्ठ र पूर्व पर्यटनमन्त्री प्रेम आलेले पनि मन्त्रीमा सशक्त दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here