उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंक अगाडि गरे प्रदर्शन

159

काठमाडौं । उद्योग व्यवसायीहरूले नेपाल राष्ट्र बैंक घेराउ गरेका छन् । केही समयदेखि चरणबद्ध सडक आन्दोलन गर्दै आएका देशभरका उद्योगी व्यवसायीहरुले मंगलबार बालुवाटारस्थित नेपाल राष्ट्र बैंक अगाडि प्रदर्शन गरेका हुन् ।

उद्योगी व्यवसायीहरुले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको अवस्थामा बैंकहरुले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको,कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएको भन्दै बैंक विरुद्ध सडक संर्घषमा उत्रिनु परेको बताएका छन् । देशभरका उद्योगी व्यवासायीहरुले राष्ट्र बैंक अगाडि पुगेर व्यवसायीहरूको पीडा महसुस गराउन ध्यानाकर्षण गराएका हुन् ।

अञ्जन श्रेष्ठ ।

विरोध कार्यक्रमा सहभागी उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायीहरु आफ्ना पीडा पोख्नको लागि राष्ट्र बैंक आएको बताए । उनले अर्थतन्त्रमा आएका समस्याको कारण उद्योगको उत्पादन कमी, रोजगारी कटौती र बजारको मागमा कमी भएको अवस्थामा समेत बैंकले चर्को ब्याजदर लिएको बताए ।

व्यवसायीहरुको व्यापार सुस्त भएको अवस्थामा उच्च ब्याज दिनसक्ने अवस्था नभएको भन्दै सरकारले व्यवसायीहरुसँग छलफल गरी सामाधान गर्न आग्रह गरे । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको चर्को ब्याजदर सरकारले नघटाएसम्म व्यवसायीहरुको आन्दोलन निरन्तर चल्ने बताए ।

दिनेश श्रेष्ठ

उनले प्रधानमन्त्रीले चासो देखाएर बैंकको ब्याजदर एकल अंकमा ल्याउन तत्काल पहल गर्नुपर्ने बताए । अर्थतन्त्र एकदमै संकटमा रहेकाले व्यवसायीहरुले चैत महिनामा ब्याज र किस्ता तिर्न सक्ने अवस्था नभएको बताए ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बारम्बार व्यवसायीहरु बैंक विरुद्ध सडक आन्दोलन गर्दा समेत नेपाल सरकार र सम्बन्धित निकायहरु समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाए । पछिल्लो समय बैंकको चर्को ब्याजदर लगायत दादागिरीको कारण व्यवसायीहरु मर्कामा परेको उनले बताए । बैंकहरुले उद्योगी व्यवसायीहरुलाई सुकुम्बासी बनाउने काम गर्न लागेको उनको भनाइ छ ।

नरेश कटुवाल

विगत एक वर्षदेखि व्यवसायीहरू बैंकको ज्यादतीविरुद्ध आन्दोलनमा रहेपनि राष्ट्र बैंकले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर केन्द्रीय बैंक घेर्नु परेको व्यवसायीहरुले बताए । आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ लगायतका केन्द्रीय महासंघहरूसँग आवद्ध भएका वस्तुगत संघहरुको सहभागिता रहेको छ ।

आन्दोलनमा व्यवसायीहरुले बैंक हामीलाई प्यारो छ, ब्याज वृद्धिले हामीलाई गाह्रो भो, बैंकिङ आतंक बन्द गर, ब्याजदरमा स्थिरता कायम गर, चालु पूँजीकर्जा सम्बन्धी मार्गदर्शन स्थगन गर, ब्याजदर हामीलाई चर्को भो, गरिखान गाह्रो भयो, उच्च सेवा शुल्क बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here