चितवनमा हुने उपनिर्वाचनमा जनमोर्चाबाट जनकराज उम्मेदवार

21

काठमाडौं । राष्ट्रिय जनमोर्चाले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । फागुन २७-२८ गते बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले उपाध्यक्ष शर्मालाई उम्मेदवार बनाउने निर्णय गर्दै उपनिर्वाचन परिचालन समितिसमेत गठन गरेको छ ।

उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । जनमोर्चाले उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव र इसाईकरणविरुद्ध भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णयसमेत गरेको अध्यक्ष केसीले बताए ।

चितवन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर नागरिकता विवादका कारण उनी पदमुक्त भएपछि निर्वाचन आयोगले आगामी २०८० साल वैशाख १० गते चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय जनमोर्चाको परिषद् बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध अभियान चलाउने निर्णयसमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here