चट्याङका घटना बढ्न थाले

20

काठमाडौं । पछिल्लो समय चट्याङका घटना बढ्न थालेको छ। गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो (बिहीबार) मात्रै चट्याङबाट धनकुटा,संखुवासभा र पाँचथरमा गरी ५ जना घाइते भएका छन्।

चट्याङबाट वार्षिक एक सयभन्दा बढी मानिसले ज्यान गुमाउँदै आएका छन् भने यसको पाँच गुणाभन्दा बढी जनावरले ज्यान गुमाउँदै आएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले चैत महिनादेखि जेठसम्म बढी चट्याङ पर्ने भएकाले विशेष सतर्कता अपनाउन सबै सर्वसाधारणलाई आग्रह गरेको छ। प्राधिकरणले भनेको छ, ‘सामान्यतया अपराह्न ३ बजेपछि चट्याङ पर्ने भएकाले बिहान काम गर्ने र यो वेला घरभित्रै बस्नुपर्छ।’

प्राधिकरणका अनुसार चट्याङ ठूलो मात्राको विद्युतीय करेन्ट हो। यसबाट बच्न यी उपाय अवलम्बन गर्न सकिन्छ :

–  धातुबाट बनेका घर सुरक्षित हुन्छन्। धातुको सामान जस्तै (आल्मुनियम, तामा, जिआइका रड) घरको सबभन्दा अग्लो भागमा राख्ने, सोही धातुका रड र पाता जोडेर जमिनसम्म पुर्‍याउने र तामाको रडसँग जोडी अर्थिङ गरे धेरै हदसम्म सुरक्षित हुन्छ।
– चट्याङ पर्दा  घर बाहिर ननिस्किने
– घरबाट बाहिर निस्किसकेको अवस्थामा पक्की घर,भ्यान, बसमा गएर बस्नुपर्छ। यदि यो अवस्थामा नभएमा अग्लो र एक्लो रूखमा ओत नलाग्ने‚ बरु रूखदेखि टाढा टुक्रुक्क बस्ने, खुला चौर भएमा टुक्रुक्क बसी टाउकाेलाई दुई घुँडाको बीचमा राखी कान थुन्ने
– घरभित्र रहँदा झ्यालढोका बन्द गर्ने र कोठाको बीचमा बस्ने
– घरमा जोडिएका टीभी,वासिङ मेसिन, फ्रिज लगायत अन्य विद्युतीयकाे तार प्लगबाट छुटाउने

– पानीको स्रोतमा सीधै नुहाउने र धुने नगर्ने
– टेलिफोनमा कुरा नगर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here