
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका महासचिव प्रेम सुवालले राष्ट्रिय सहमतिका नाममा सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन नहुने जनाएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै महासचिव सुवालले राष्ट्रिय सहमतिको अर्थ तीन पार्टीका नेताबीच प्रधानमन्त्रीको भागबन्डा गरेर सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउने नभएको जनाए।
‘राष्ट्रिय सहमतिको अर्थ तीन पार्टीका नेताबीच प्रधानमन्त्रीको भागबन्डा गरेर सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउने होइन। संसदीय व्यवस्थामा प्रधानमन्त्रीसँग प्रतिनिधिसभा भंग गर्ने भरेको बन्दुक हुन्छ,’ उनले भने।
सुवालले प्रहरी प्रशासनलाई दुरुपयोग गरेर प्रधानमन्त्री तथा मन्त्री हुने होइन भन्दै आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रधानमन्त्री, मन्त्री, सांसद उच्च अधिकारीहरूलाई घरजग्गा किन्न पाउने कानुन नबनाएसम्म भ्रष्टाचार र सरकारी जग्गा अतिक्रमण नरोकिने जनाए ।
‘राजनीति भनेको सिद्धान्तहिन गठबन्धन गरेर पैसा र सामान बाँडेर भोज भतेर खुवाएर प्रहरी प्रशासनलाई दुरुपयोग गरेर चुनाव जित्ने र प्रधानमन्त्री तथा मन्त्री हुने होइन। आ–आफ्नो निर्वाचन क्षेत्रमा प्धानमन्त्री, मन्त्री, सांसद उच्च अधिकारीहरुलाई घरजग्गा किन्न पाउने कानुन नबनाएसम्म भ्रष्टाचार र सरकारी जग्गा अतिक्रमण रोकिने छैन,’ उनले भने।

















