प्लसटुमा अध्ययनरत सबै विद्यार्थीलाई निःशुल्क होस्टेल सुविधा दिने

24

पर्वत । जिल्लाको जलजला गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत सबै विद्यार्थीलाई निःशुल्क होस्टेल सुविधा दिने भएको छ।

स्थानीय तहमा रहेका विद्यालयमा शैक्षिक गुणस्तर कायम गरी गुणस्तरीय शिक्षाको खोजीमा बजार च्याप्नुपर्ने बाध्यताको अन्त्य गर्ने प्रयास गरिरहेको जलजला गाउँपालिकाले वडा नं. ३ माझफाँटमा रहेको विद्याज्योति माध्यमिक विद्यालयमा होस्टेल सञ्चालन गर्न लागेको हो।

गाउँपालिकाभित्र रहेर कक्षा ११ र १२ पनि सञ्चालन गरिरहेका छ वटा विद्यालयका विद्यार्थीलाई दिवा तथा पूर्णकालीन रूपमा ‘होस्टेल’ को सुविधा दिन लागेको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख त्रिविक्रम आचार्यले बताए।

‘गाउँपालिकाभित्र रहेका कक्षा ११ र १२ मा अध्ययनरत सबै विद्यार्थीहरूलाई एकै ठाउँमा होस्टेलमा राखेर पढाउने भन्ने गाउँ शिक्षा समितिबाट यसबारेमा निर्णय भएको छ। गाउँपालिकामा रहेको छ वटा विद्यालयका करिब २ सय विद्यार्थीहरू अब एउटै होस्टेलमा बस्न पाउने छन्,’, उनले भने, ‘देशका अन्य स्थानीय तहमा पनि यो अभ्यास भएको कुरा मैले सुनेको छैन। यसलाई हामी तत्काल  कार्यान्वयन गर्न लागिरहेका छौँ। शैक्षिक गुणस्तर कायम गर्न यो नयाँ अभ्यास उपयोगी हुने छ भन्ने हाम्रो विश्वास छ।’

गाउँमै कक्षा ११ र १२ को कक्षा सञ्चालन गरिरहेका विद्यालय छाडेर गुणस्तरीय शिक्षाको खोजीमा गाउँका विद्यार्थीहरू बजारमा र बजारका विद्यार्थीहरू ठुला सहरमा गइरहेको अवस्था छ। गाउँका विद्यालयमा नै गुणस्तरीय शिक्षा प्रदान गर्न सकियो भने उनीहरू बाहिर जानु नपर्ने र उनीहरुको शिक्षाका लागि परिवारले धेरै लगानी गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने गाउँपालिकाका अध्यक्ष राजु आचार्य बताउँछन्।

‘यसो गर्दा सबैको ध्यान एकीकृत पनि हुन्छ। अर्को कुरा आर्थिक समस्यामा रहेका विपन्न परिवारका विद्यार्थीहरूलाई यो कार्यक्रमले निकै सहयोग पुग्ने छ’, उनी भन्छन्, ‘बजारमा बस्दा साथ भाडामा कोठा चाहियो। पिउने पानी त निःशुल्क पाइँदैन अरू खर्चको कुरा के गर्नुरु गाउँमा बाबुआमाले कति दुःख गरेर बजारमा बसेको सन्तानका लागि खर्च धान्नु परेको छ।’ शिक्षक, विद्यार्थी र अभिभावक सबैमा शिक्षाप्रति उत्प्रेरणा जगाउन पनि यो कार्यक्रम राम्रो हुन्छ भन्ने गाउँपालिकाको विश्वास छ।

आवश्यक खर्चको व्यवस्थापनको लागि ‘होस्टेल’ रहने विद्यालय आसपासमा खेती नगरी बाँझिएको जग्गा उपलब्ध भए त्यसलाई भाडामा लिएर खेतीपाती समेत गर्ने योजना गाउँपालिकाले बनाएको छ। बिहान बेलुकाको थोरै थोरै समयमा शिक्षक, विद्यार्थी र ‘होस्टेल’ मा रहने कर्मचारीले थोरै थोरै काम गर्दा मात्रै पनि ‘होस्टेल’ मा आवश्यक तरकारी उत्पादन हुने छ। यसले विद्यार्थीलाई कृषिमा आकर्षण गर्नुका साथै आम्दानी गर्न सिकाउने छ।

सम्बन्धित विद्यालयका प्रधानाध्यापक र अन्य सरोकारवालाहरूले सबैले राम्रो प्रतिक्रिया दिएकाले जतिसक्दो छिटो यसलाई कार्यान्वयनमा लैजाने तयारी छ। यसलाई प्रभावकारी बनाउन कक्षा ११ र १२ को पढाई हुने गाउँपालिकाभित्रका  छ वटा विद्यालयहरूबाट अस्थायी दरबन्दीमा रहेका शिक्षकहरूलाई होस्टेलमा ल्याइने छ।

विद्याज्योति मा।वि। हालै मात्र निर्माण भएको नयाँ भवनको सुविधाका कारण छात्र र छात्रालाई फरक फरक भवनमा राख्न सकिने भएकाले पनि ‘होस्टेल’ सञ्चालनमा भौतिक समस्या नरहने शिक्षा शाखा प्रमुख आचार्य बताउँछन्। ‘होस्टेल’ नजिकैबाट आउजाउ गर्न सक्ने विद्यार्थीहरूलाई ‘डे होस्टेल’ मा मात्रै राख्ने र टाढा वा जलजला भन्दा बाहिरका स्थानीय तहबाट आउने विद्यार्थीलाई ‘फूल होस्टेल’ मा राख्ने तयारी भइरहेको उनको भनाइ छ।

‘जलजला बाहेकका अन्य स्थानीय तहबाट अध्ययनका लागि आउने विद्यार्थीले प्रवेश परीक्षा पास गरेर होस्टेलमा बस्ने पाउने सुविधा प्राप्त गर्ने छन् र त्यो अहिलेका लागि निःशुल्क हुने छ। बाहिरबाट आउने बागलुङ, म्याग्दी वा पर्वतकै अन्य स्थानीय तहबाट आउने विद्यार्थीका लागि पछि सामान्य शुल्क तोकिन पनि सक्छ’, आचार्य भन्छन्, ‘तर जलजलामा नै अध्ययनरत विद्यार्थीले भने परीक्षा दिनु पर्दैन। शिक्षक  पनि होस्टेलमा नै रहने गरी व्यवस्था हुन्छ। यसका लागि आवश्यक खर्चको व्यवस्थापन गाउँपालिकाले नै गर्नेछ।’

गाउँपालिकाको कोषमा मात्रै भर नपरी ‘होस्टेल’ आफैले आम्दानी गर्न सक्ने सम्भावना, गाउँपालिकाले गर्नुपर्ने लगानी लगायतका खर्चका विषयमा अध्ययन गर्न समिति निर्माण गरेर गरिने छ। समितिले आम्दानीका अन्य स्रोतहरू समेत खोजी गर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here