काठमाडाैं । नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन-२०७९ अन्तर्गत चैत्र २१ गते दोलखा, रामेछाप र सिन्धुली जिल्लाहरुमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागितामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ ।
श्री नं.९ बाहिनी अड्डा अन्तर्गत सम्पन्न सम्मेलनको मूल समारोहस्थल रामेछापको मन्थलीमा प्रमुख अतिथि प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा हुनुहुन्थ्यो भने अन्य दुई समारोहस्थल क्रमश: दोलखाको चरिकोट र सिन्धुलीको माझिटारमा श्री मध्य पूर्वी पृतनाका चिफ अफ स्टाफ सहायक रथी श्री हेमराज के.सी. र श्री नं. २७ बाहिनीपति सहायक रथी श्री भरतचन्द्र गुरुङ्ग हुनुहुन्थ्यो ।
सम्मेलनको दौरान मन्थलीबाट दोलखा र सिन्धुलीका समारोहस्थलहरुका सहभागीहरुलाई समेत Live Multicast द्वारा प्रधान सेनापतिले सम्बोधन गर्नु भएको थियो । सम्बोधनका क्रममा प्रधान सेनापतिले सैनिक कल्याणकारी कोषमार्फत संचालित कार्यक्रमहरुमा भईरहेको विस्तारका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले अवकाशप्राप्त जीवनयापनका क्रममा संगठनको संवेदनशीलता तथा यसको नीति, नियम र परिधिभित्र रही एक अनुशासित सैनिक र सच्चा नेपाली नागरिकको रुपमा आ-आफ्नो क्षेत्रबाट समाज विकासको लागि एक भरोसादार व्यक्तिको रुपमा आफूलाई स्थापित गर्न पूर्व सैनिकहरुलाई आव्हान गर्नुभयो ।
सैनिक कल्याणकारी कोषको रकम पारदर्शी रुपमा सदुपयोग गर्दै सिमित स्रोत साधनका बाबजुद शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलियतमार्फत सम्पूर्ण हिताधिकारीहरुलाई सुविधा उपलब्ध गराउँदै आइरहेको बताउँदै प्रधान सेनापतिले Welfare Vision 2030 अनुसार कल्याणकारी सेवा सुविधा विस्तारमा नेपाली सेना कटिवद्ध रहेको बताउनु भयो ।
एकल महिलालाई नेपाली सेनाले सदैव महत्वका साथ हेर्दै आएको र यसको निरन्तरता स्वरुप देशका विभिन्न ६ स्थानमा एकल महिला स्वरोजगार केन्द्रहरु संचालन भईरहेको एवं वीरगति प्राप्त सकलदर्जाका सन्ततीलाई नेपाली सेनाको भर्नामा प्राथमिकताका लागि प्रयत्नशील रहेको बताउनु भयो ।
मूल समारोहस्थलमा दोलखा जिल्ला निवासी ९४ (चौरानब्बे) वर्षका मानार्थ उप सेनानी कटक बहादुर तामाङ्ग (अ.प्रा.) र स्वर्गीय सिपाही रत्न बहादुर खड्का (अ.प्रा.) को श्रीमती सिन्धुली जिल्ला निवासी ९८ (अन्ठानब्बे) वर्षकी एकल महिला श्रीमती लिलामाया खड्कालाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट लघुउद्यमी/व्यवसायीहरु दुई जनालाई प्रशंसा-पत्र एवं पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा चार वा सो भन्दा बढी सन्ततिहरु नेपाली सेनामा रहेका ५ (पाँच) जना अभिभावकहरुलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त ५ (पाँच) जनालाई व्हिल चेयर तथा बैसाखी र विभिन्न सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिहरुलाई कर्जाको चेक वितरण गरिएको थियो । यस्तै, चरिकोटस्थित समारोहस्थलमा दोलखा जिल्ला निवासी ९६ (छयानब्बे) वर्षका हुद्धा चन्द्र बहादुर कार्की (अ.प्रा.) र स्वर्गीय अमल्दार रङ्गध्वज कार्की (अ.प्रा.) को श्रीमती दोलखा जिल्ला निवासी ९४ (चौरानब्बे) वर्षकी एकल महिला श्रीमती मान कुमारी कार्कीलाई सम्मान गरिनुका साथै फरक क्षमता भएका तथा अशक्त २ (दुई) जनालाई व्हिल चेयर तथा बैसाखी वितरण गरिएको थियो ।
त्यसैगरी, सिन्धुलीको माझिटारस्थित समारोहस्थलमा फरक क्षमता भएका तथा अशक्त ३ (तीन) जनालाई व्हिल चेयर तथा बैसाखी वितरण गरिएको थियो । ५. भू.पू. सैनिकहरुको तर्फबाट प्रादेशिक रथीबृन्द प्रतिनिधि उपरथी डा. सुनिल कुमार सिंह (अ.प्रा.) तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका महा सचिव प्रमुख सेनानी श्याम सुन्दर घिमिरे (अ.प्रा.) ले मन्तव्य राख्नुहुँदै अवकाशप्राप्त सैनिक र आश्रित परिवारजनलाई पुर्याउँदै आएको सहयोगका लागि नेपाली सेना प्रति आभार प्रकट गर्नुभयो । उहाँहरुले देश र संस्थाको हित हुने कार्यमा समर्पित रहन अवकाश प्राप्त सैनिकहरु तत्पर रहेको बताउनु भयो । बलाध्यक्ष रथी सिताराम खड्काले समापन मन्तब्य राख्नुहुँदै हरेक वर्ष आयोजना हुने यस किसिमको सम्मेलन कल्याणकारी गतिविधिहरुको पूनरावलोकनका लागि सहयोगी हुने कुरा बताउनु भयो ।
कार्यक्रममा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरु, नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी गौरव तण्डुल (अ.प्रा.), जनप्रतिनिधिहरु, जिल्लास्थित सुरक्षा निकायका पदाधिकारीहरू, नेपाल ईन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा परिवारहरुका साथै संचारकर्मीहरुको उपस्थिति रहेको थियो । सम्मेलनको अवसरमा तीनवटै समारोहस्थलहरुमा सैनिक मेडिकल टिमद्वारा स्वास्थ्य शिविर संचालन गरि स्वास्थ्योपचार सेवा प्रदान गरिएको छ । यस सम्मेलनसँगै यस वर्षको भूतपूर्व सैनिक सम्मेलनका कार्यक्रमहरु सम्पन्न भएका छन् ।


















