गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको खेल हुने

112

काठमाडौं । विराटनगरमा जारी गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको खेल रात्रिकालीन हुने भएको छ।

प्रतियोगिता संयोजक रञ्जन थापाका अनुसार नेपालमा पहिलोपटक शुक्रबार बेलुका शहीद मैदानमा रात्रिकालीन रुपमा हक्कीको खेल हुनेछ। लिग चरणको खेलअन्तर्गत समूह ए तर्फ साविक विजेता त्रिभुवन आर्मी र पूर्व विजेता गण्डकी प्रदेशबीच रात्रीकालिन खेल हुने उनले बताए। संयोजक थापाका अनुसार, रात्रिकालीन खेलका लागि सामाजिक विकास मन्त्रालय कोशी प्रदेशमा अनुमति माग भइसकेको छ।

संयोजक थापाले नेपालमा पहिलोपटक हक्कीलाई पनि फ्लडलाइट्समुनि गराउन सकिने गरि तयारी गरिएको जानकारी दिए। पहिलो खेल सहज रुपमा हुने अपेक्षा गरेका संयोजक थापाले सोही खेलका आधारमा आगामी खेलपनि रात्रिकालीन गर्न सकिनेबारे आयोजक टोली तयार रहेको बताए।

अर्कोतर्फ, शुक्रबार बिहान भएको समुह बीको खेलमा सुदूरपश्चिमको टोली विजयी भएको छ। घरेलु मैदानमा कोशी प्रदेशको टोली १ काविरुद्ध ३ गोलले सुदूरपश्चिमसंग पराजित भएको छ। शहीद मैदानमा सम्पन्न खेलमा जित हात पारेको सुदूरपश्चिमका लागि महेश नेपाली, सागर बोहरा, र अमित ओझाले गोल गरेका थिए। घरेलु मैदानमा पराजित कोशीका लागि विसु घिमिरेले सान्त्वना १ गोल फर्काएका थिए। समूह बीमा ३ अंकसहित सुदूरपश्चिम पहिलो स्थानमा रहेको छ। त्यसैगरि, बिहीबारको खेलमा बराबरी खेलेका कोशी प्रदेश र मधेश प्रदेश समान १ अंकमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here