विदेशमा मृत्यु भएकाहरूको परिवारले पाउने बिमा रकम ठगी गर्ने गिरोह पक्राउ

31

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएकाहरूको परिवारले पाउने बिमा रकम ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै मृत्यु बिमावापत ठगी गरेको भन्दै वैैदेशिक रोजगार बोर्डका एक कर्मचारीसहित ६ जनाको गिरोहलाई पक्राउ गरिएको जानकारी दिएको हो ।

पक्राउ परेका उनीहरूले विदेशमा मृत्यु भएकाहरूको परिवारलाई सहज रुपमा बिमावापतको रकम उपलब्ध गराइदिने भन्दै बिमा रकम प्राप्त भएपछि आधा मात्रै परिवारलाई बुझाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बिमा रकम प्राप्तिका लागि सेटिङ गराएबापत वैदेशिक रोजगार बोर्डका एक कर्मचारीले पनि कमिसन लिने गरिएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मनोजकुमार केसीले जानकारी दिए ।

पक्राउ पर्नेमा एक सरकारी कर्मचारीसहित काभ्रेका रामबहादुर तामाङ, सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रविन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले रहेका छन् ।

पक्राउ परेकाहरूबाट नागरिकता, राहदानी, मृत्यु दर्ता लगायतका कागजात बरामद भएको प्रहरीले जनाएको छ । बिमा रकममा ठगी गर्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here