समिट अपार्टमेन्ट बनाउने क्रममा वरिपरिका घर भासिएपछि स्थानीय मारमा

48

ललितपुर । ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरिपरिका घर भासिएपछि स्थानीय मारमा परेका छन् । गएराति सो अपार्टमेन्ट वरिपरिका घर भासिएपछि स्थानीयवासीहरुको भागदौड समेत मच्चिएको थियो । नक्सा पास नै नगरी र आफूहरुसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरुको घर समेत भासिन पुगेको स्थानीयको आरोप छ । उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै तत्काल आवश्यक व्यवस्था गर्न पनि माग गरेका छन् ।

निर्माणाधिन अपार्टमेन्ट वरिपरिका घरहरु एकतला जति भासिएका छन् । डेरा गरेर बस्नेहरु सबै भागेको र आफूहरु पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयले बताएका छन् ।  अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको पनि स्थानीयको दावी छ ।  गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरुलाई घरबासविहिन बनाउने पक्षलाई तत्काल कारबाही गर्न समेत उनीहरुले माग गरेका छन् ।
यसैबीच, ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरुले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन् । शनिबार बिहान भासिएका घरहरुको निरीक्षण गरेपछि उनले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरिन् । सांसद कार्कीले सो विषयमा आफूले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पनि कुरा गरेको र स्थानीयलाई न्याय दिन आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । उनले स्थानीयलाई भासिएको घरमा नबस्न र सुरक्षित ठाउँमा सर्न पनि आग्रह गरिन् । त्यसका लागि आफूले पनि सकेको सहयोग गर्ने उनको भनाई थियो ।

अपार्टमेन्ट निर्माणको क्रममा वरपरका घरहरु भासिएपछि भागदौड गर्ने क्रममा कतिपय घाइते समेत भएका छन् । उनीहरुको उपचारको व्यवस्था र उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि आफूले पहल गर्ने सांसद कार्कीले बताइन् । सडक समेत चर्किएपछि त्यस क्षेत्रका बासिन्दा तनावग्रस्त छन् । आफूहरुको बिचल्ली हुँदा पनि निर्माण कम्पनीले पीडाको सुनुवाई नगरेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरिरहेका छन् । स्थानीयले दवाव दिएपछि सो अपार्टमेन्टको निर्माण कार्य पनि रोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here