जनसङ्ख्या वैज्ञानिकहरूको नवौँ शिखर सम्मेलन शुरु 

24

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको नवौँ शिखर सम्मेलन मंगलबारदेखि काठमाडौंमा शुरु भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नेतृत्वमा भएको सम्मेलनमा नेपालको स्वास्थ्य क्षेत्रमा आबद्ध विभिन्न विधाका विज्ञहरू सहभागी छन्।

सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले क्लिनिक र अस्पताललाई आधार बनाएर गरिने अनुसन्धानमा जोड दिएको भन्दै कोभिडले अनुसन्धानमा थप सिक्ने मिलेको बताएका छन्।

यस्तै सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को प्रादेशिक संरचना बनाउने तयारी रहेको बताएका छन्।​

अनुसन्धान परिषद्ले गरेका अनुसन्धान अनुसार राज्यका लागि नीति निर्माण गर्न उनले अनुरोध गरे।

उनले कोभिड-१९ को समयमा परिषद्ले गरेका अनुसन्धान प्रभावकारी भएको बताए। ‘कोभिडका वेला भएका रिसर्चले काम गरेको छ’‚ उनले भने, ‘क्लाइमेट चेन्ज, नसर्ने रोग र मेन्टल हेल्थका रिसर्च गरेर नीति निर्माणका लागि सहयोग हुनुपर्छ। त्यसका लागि हामी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को प्रादेशिक संरचना बनाउने तयारीमा छौं’‚ सचिव पोखरेलले भने।

यस्तै उद्घाटन कार्यक्रममा बोल्दै  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले सम्मेलनले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा फरक पाटो नय गर्ने बताए। उनले अनुसन्धानबिना समाजवादको कल्पना हुन नसक्ने भन्दै स्वास्थ्य अनुसन्धानको नतिजाअनुसार नीति बन्ने समेत बताए।

यस्तै हाल प्रजननदर घट्दो, वृद्धवृद्धाको संख्या बढ्दो अवस्थामा रहेको भन्दै उनले यी विषय पनि अनुसन्धानको दायरामा ल्याएर अघि बढ्नुपर्ने बताए। यसका साथै हाल नेपालमा मौलिक चिकित्सा तथा आयुर्वेदिक उपचार पद्धतिको अनुसन्धान आवश्यक रहेको समेत उनको भनाइ थियो।

‘प्रदेश मौलिक चिकित्सा तथा आयुर्वेदिक उपचार पद्धतिको अनुसन्धान आवश्यक छ। प्रदेश र स्थानीय तहका नीति नियमलाई त्यही सुहाउँदो अनुसन्धान गरी सिफारिस गर्नुपर्छ। यसमा राज्यले लगानी बढाउनेछ’‚ उनले भने।

उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापना दिवसको अवसरमा वार्षिक राष्ट्रिय शिखर सम्मेलन गर्दै आएको र विगतमा झैँ यो वर्ष पनि परिषद्ले ‘स्वास्थ्यका लागि अनुसन्धान : कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने नाराका साथ नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको नवौँ राष्ट्रिय शिखर सम्मेलन आयोजना गरेको उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here