सकारात्मक निर्णयविरुद्ध चौतर्फी प्रहार : प्रम

64

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सकारात्मक पहलकदमी र निर्णयविरुद्ध चौतर्फी प्रहार भइरहेको जनाएका छन्।  उनले जनयुद्ध र जनआन्दोलनमा सहादत प्राप्त गरेकालाई शहीद घोषणा गर्ने विषय र अयोग्य लडाकुलाई दुई लाख रुपैया दिने प्रक्रिया अघि बढाउँदा स्यालहुइँया मच्चाइएको जनाए ।

सोमबार अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रचण्डले त्यसविरुद्ध गर्जिन मजदुर नेतालाई आग्रह गरे।

‘हिजो अर्कै सरकारले निर्णय गरेको परिस्थितिमा सर्वोच्च अदालतले भनेबमोजिम बहिर्गमित लडाकुलाई २ लाख दिन खोज्दा स्यालहुइँया अपनाइएको छ।’ उनले भने।

मजदुर नेताहरूलाई विशेष अपिल गर्दै उनले यसको प्रतिवाद गर्न आग्रह गरे।

‘तपाईँ हामी अब गर्जिनुपर्छ। आन्दोलित हुनुपर्छ। तपाईँ हामी नगर्जिँदा स्यालहरू रजाइँ गर्न थालेका छन्। त्यसलाई छुट दिन सकिँदैन।’ प्रचण्डले भने, ‘मैले जनयुद्ध वा भूमिगत हुने भनेको होइन, सडकबाट गर्जिऔं भने पनि स्यालहरू लखेटिन्छन्।’

उनले अहिले पनि जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि उल्टाउने प्रयत्न भइरहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here