रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार प्रचण्डको सरकारमा सामेल हुने

32

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सामेल हुने सहमति नभएको बताएका छन् ।
‘रास्वपा उपनिर्वाचनमा थप जनमत लिएर आएको छ । सरकारमा जाने वा नजाने, सरकारको समर्थन कायम राख्ने वा नराख्ने आन्तरिक छलफल गर्न बाँकी छ । निर्णय जे पनि हुन सक्छ । अहिले कसैले भनेर हुँदैन । प्रचण्डसँग सहमति भएको भए लुकाउनुपर्ने कारण थिएन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै परियारले भने । यसबारे शुक्रबार बस्ने पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा छलफल हुने पनि उनले बताए ।
पार्टीको प्राथमिकता सरकारभन्दा पार्टी निर्माण भएको पनि परियारले औंल्याए । उनले थपे, ‘आजको संसदीय अंकगणितमा दुईतीनवटा पार्टी नमिलीकन सरकार बन्दैन । समस्यामा परेको मुलुकलाई अघि बढाउन सहकार्य आवश्यक पनि छ । तर हाम्रो प्राथमिकता सरकारभन्दा पनि पार्टी निर्माण र जनताको नजिक जाने हो ।’
प्रमुख सचेतक परियारले भ्रष्टाचारको छानबिन रास्वपाको न्यूनतम प्राथमिकतामा रहेको बताए । उनले आफ्नो पार्टी गृहमन्त्रालय नदिए सरकारमा जाँदैन भन्ने भाष्य स्थापित गर्न खोजिएकोमा आपत्ति पनि जनाए । उनले भने, ‘देश विकासमा सबै मन्त्रालयको आफ्नै महत्त्व हुन्छ । गृहमन्त्रालय मात्र होइन, नेपाली जनताको जीवन रुपान्तरणका लागि कार्यकारी भूमिका, गृह, अर्थ, परराष्ट्र, भौतिक योजना जो कोही मन्त्रालय लिएर सक्छ । मन्त्रालय कसले चलाउने भन्ने प्राविधिक कुरा भयो, मुख्य कुरा दलहरुबीच सहकार्य गर्ने कि नगर्ने भन्ने हो । गठबन्धन दलहरुबाट हामीले चाहेको प्रतिबद्धता आउँछ र काम गर्ने वातावरण बन्छ भने सहकार्यका लागि तयार छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here