लाइसेन्स छपाइमा पुनः ढिला

56

काठमाडौं । छाप्न बाँकी रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को सङ्ख्या वृद्धि भइरहेको छ। एक वर्षअघि करिब तीन लाखमा झारिएको छाप्न बाँकी सङ्ख्या हाल आठ लाख ५० हजारप्रति पुगेको छ। यातायात व्यवस्था विभागले दैनिक तीन हजारप्रति लाइसेन्स छाप्छ तर माग भने छ हजारभन्दा बढी छ।

तीन चरणमा प्रिन्ट मेसिन सञ्चालन गरेर र नयाँ आवेदन बन्द गरेर छाप्न बाँकी लाइसेन्स छापिएको थियो तर हाल समस्या पुनः दोहोरिएको छ। छाप्न बाँकी रहेका लाइसेन्स छापिएको वा नछापिएको जानकारी मोबाइलमा म्यासेजमार्फत दिइन्छ। विभागका निर्देशक श्रीचन्द्र शाहले बाँकी रहेको छपाइ सम्पन्न गर्ने योजनामा विभागले थप काम गरिरहेको जानकारी दिए।

हाल विभागमा छपाइ कार्ड सकिन लागेको छ। १२ लाखप्रति कार्ड जर्मनीबाट ल्याइँदै छ। उनले भने, “जर्मनीको मुलभर्ग कम्पनीबाट कार्ड ल्याइँदै छ। छिटो छाप्नका लागि स्मार्ट कार्ड मास प्रिन्टरको टेन्डर खुलाइँदै छ। यी काम भएपछि प्रिन्टका लागि कुर्नु नपर्ला।”

उनका अनुसार तीन वर्ष अगाडिदेखिका लाइसेन्स छाप्न बाँकी छ। उनले भने, “कार्ड प्रिन्ट भएपछि सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेज पठाइन्छ। अत्यावश्यक भएका सेवाग्राहीलाई फास्ट ट्र्याकबाट पनि सेवा दिइरहेका छौँ।” श्रम र अध्ययनका लागि विदेश जाने, शान्ति मिसनमा जाने नेपाली सेना तथा नेपाल प्रहरीका सवारीचालकलाई निवेदन दिएको बढीमा तीन दिनभित्र लाइसेन्स उपलब्ध गराइँदै आएको छ। ट्रायल परीक्षामा ७० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था लागू भएकाले सेवाग्राहीको सङ्ख्या वृद्धि भइरहेको छ। गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here