सर्वसाधारण हिमाली पाटन क्षेत्रमा

30

 

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–२, झुस्कुबाट वीरेन्द्रसिंह डोबाल र चन्द्रकला डोबाल दम्पती चार दिन लगाएर वैशाख ११ गते यार्सागुम्बा सङ्कलन हुने क्षेत्र अपिहिमाल गाउँपालिकाको पिलकनदह पुग्नुभयो। उहाँहरू यार्सा सङ्कलन हुने क्षेत्रमा पुग्दा हिउँ पग्लिसकेको थिएन।

यार्सा सङ्कलक चन्द्रकला डोबालले भन्नुभयो, “पिलकनदहमा हिउँ फालेर टेन्ट लगायौँ, खाना पकाउन एक दिन लगाएर दाउरा खोज्यौँ, तर यार्सा सङ्कलमा समस्या भएको छ। निरन्तर हिमपात भएका कारण दैनिकी कष्टकर बनेको छ।

मध्य वैशाखमा सयौँ यार्सा सङ्कलक हिमपातका कारण गाउँ फर्किएका थिए। वैशाख २२ गतेदेखि घाम लागेपछि हिउँ पग्लेर यार्सा सङ्कलन हुने पाटनमा यार्सागुम्बा खोज्न सुरु भएको छ। हिमपातका कारण यार्सा खोज्न नसकेर गाउँ फर्किएकासमेत फेरि लेकतिर लागेका छन्।

अपिहिमाल गाउँपालिका–१, सिती आरुखोडका स्थानीयले भवयदहमा अस्थाई घर बनाएर यार्सागुम्बा सङ्कलन सुरु गरेका छन्। वैशाखमा बाक्लो हिमपात हुँदा यो वर्ष यार्सा सङ्कलनको सिजन ढिलो सुरु भएको हो यार्सा सङ्कलक उत्तमसिंह जागरीले भन्नुभयो। यो वर्ष असार अन्तिमसम्म यार्सागुम्बा सङ्कलन हुन्छ। गाउँघरमा एक/दुई जना घरहेराला, बच्चा हेराला छोडेर स्थानीय सर्वसाधारण सबै यार्सा सङ्कलनका लागि लेकतिर लागेका छन्। अपिहिमालका सबै गाउँबाट यार्सा सङ्कलन गर्न लेकतिर आउँछन, यार्सा सङ्कलक गीता जागरीले भन्नुभयो। यार्सा नखोजे त के खान्छन् र सर ? ठुलो परिवारले एक सिजनमा एक किलोग्राम यार्सा फेला पर्ने गरेको उहाँले बताउनुभयो। कुनै सिजनमा बढी र कुनै सिजनमा कम यार्सा पाइने गरेको सङ्कलकहरू बताउँछन्।

अपिहिमाल–१, आरुखोडका स्थानीयवासी आठ/नौ सय भेडा–च्याङ्ग्रासहित चैत २८ गते लेकतिर गएका छन्। हिउँ पग्लिएपछि बल्ल यार्सागुम्बा सङ्कलन सुरु भएको छ। हिमाली क्षेत्रका स्थानीयको जीविकोपार्जनको प्रमुख आधार यार्सागुम्बा सङ्कलन हो।

यार्सा खोज्न सुरु भएसँगै दार्चुलाको अपिहिमाल, मार्मा, नौगाडलगायत विभिन्न स्थानीय तहका सङ्कलकहरू अपिहिमालको हिमाली पाटनमा पुगेका छन्। यस्तै व्यास र दुहुँलगायत स्थानीय यार्सा सङ्कलन हुने पाटनहरूमा पुगेका छन्।

अपिहिमालको लोलु, भवय, पिलकनदह, रिङ्देपानी, कालीढुङ्गा, रौन्याड, सतगङ्गालगायत पाटनहरूमा बढी यार्सागुम्बा सङ्कलन हुने गरेको छ। सयौँ बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासमेत यार्सा सङ्कलनका लागि पाटन पुगिसकेका छन्। सङ्कलकहरूले पैसाका लागि जोखिम मोलेर यार्सा सङ्कलन गर्ने गरेका छन्।

विद्यालय बन्द, शिक्षक विद्यार्थी लेकतिर दार्चुलाको अपिहिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनका लागि शिक्षक र विद्यार्थी पनि पाटनहरूमा पुगेका छन्। अपिहिमालका अधिकांश शिक्षक र विद्यार्थी यार्सागुम्बा टिप्न लेकतिर गएकाले विद्यालय बन्द भएका छन्। विद्यालय सञ्चालन गरे पनि विद्यार्थी नआउने भएकाले पछिल्लो समयमा बिदा मिलाउने गरेर विद्यालय बन्द गर्ने गरिएको अपिहिमाल गाउँपालिका शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मदनराज जोशीले बताउनुभयो।

अपिहिमाल गाउँपालिकाभरिका २४ वटै विद्यालयमा वैशाख १७ गतेदेखि जेठ ५ गतेसम्म बिदा दिइएको गाउँपालिकाले जनाएको छ। यार्साको सिजन ढिला सुरु भएकाले विद्यालय सञ्चालन गरे पनि शिक्षक, विद्यार्थी फर्काउन मुस्किल हुने गरेको छ।

हिमाली क्षेत्रमा यार्सा सिजन सुरु हुने बित्तिकै विद्यालयमा विद्यार्थीको उपस्थिति हुँदैन। विद्यार्थी नहुँदा विद्यालय बन्द हुने र शिक्षकहरू पनि यार्सा सङ्कलनका लागि पाटन जाने गरेका हुन्। वर्षे तथा दशैँ, तिहारको बिदाबाट मिलाउने गरेर यार्सा सङ्कलन हुने समयमा विद्यालय बन्द गर्ने गरिएको छ। उच्च पहाडी र हिमाली क्षेत्रका नागरिकको मुख्य रोजीरोटीको पेसा भनेकै यार्सा टिप्ने र बिक्री  वितरण रहेको छ।

एक सिजनबाट वर्षभरिको खर्च धान्नुपर्ने भएकाले विद्यालय बन्द गरेर भए पनि शिक्षक विद्यार्थी यार्सा सङ्कलन गर्न जाने गरेको अपिहिमालस्थित खण्डेश्वरी माविका प्रधानाध्यापक खडक लोथ्यालले बताउनुभयो। अहिले हिमाली क्षेत्रका बस्तीमा विद्यालय मात्र बन्द होइन गाउँ नै सुनसान बनेका छन्। स्थानीय सर्वसाधारण तथा विद्यार्थी पाटन उक्लिएपछि गाउँ सुनसान भएको उहाँले बताउनुभयो। यार्सा सङ्कलन गर्न जाने अधिकांश बालबालिका र वृद्धवृद्धा बिरामी पर्ने गरेका छन्। स्वास्थ्य र सुरक्षाको राम्रो व्यवस्थापन नहुँदा कतिपयले अल्पायुमै ज्यानसमेत गुमाउने गरेको स्थानीय बताउँछन्।

विगतमा अपि नाम्पा संरक्षण क्षेत्रले यार्सागुम्बा सङ्कलनका लागि परिचयपत्र अनिवार्य गरेको थियो। पछिल्लो केही वर्ष यता परिषद् नेतृत्वविहीन हुनु र राजस्व सङ्कलनलगायत विषयमा स्थानीय तहसँग विवाद देखिएकाले परिचयपत्र तथा अनुमतिपत्रबिनै यार्सा सङ्कलनमा जाने गरेका छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनविपरीत यार्सा सङ्कलन हुँदासमेत कार्यालयले नियमन गर्न सकेको छैन। दार्चुलाको लोलु, दुधी, रोखापु, सतगङ्गा, चाइमटेला, धरमघर, अपि र नाम्पा क्षेत्रलगायत पाटनमा यार्सागुम्बा सङ्कलन हुने गरेको छ। लोकेन्द्र जोशी गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here