धनुषाबाट एक महिनामा ४ हजार बढि युवा विदेशिए

34

जनकपुरधाम  : ४३ डिग्रि तापक्रममा गर्मी र पसिनाले लथपथ हुँदै राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय धनुषाको प्रांगण युवाहरूले भरिभराउ हुने गर्छ। राहदानी बनाउनका लागि राष्ट्रिय परिचय पत्र बनाउनु अनिवार्य रहेको हुँदा युवाहरू चर्को घाममा लाम लागेर काम गराइराखेका हुन्छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषामा प्रतिदिन सबैभन्दा बढि भीड राहदानी र परिचय पत्र बनाउनकै लागि लाग्ने गर्दछ ।  स्वदेशमा बढ्दो बेरोजगारी र आर्थिक दुरावस्थाले पीडित भएका मधेशका युवाहरूको लागि घरपरिवार चलाउने भरपर्दो माध्यम विदेशमा श्रम गर्न जानु नै हो ।

विदेशबाट कमाएको पैसाले स्वदेशमा घर बनाउने, विहेबारी गर्ने र आर्थिक रुपमा सशक्त हुने र फेरि जीवन धान्नका लागि दोहराएर विदेश जानेहरूको संख्या मधेश प्रदेशमा अत्याधिक छ । देशैभरीमा सबैभन्दा बढि वैदेशिक रोजगारमा जाने युवाहरू मधेशका पाँचवटा जिल्लाबाट रहेको श्रम,रोजगार तथा सामाजिक कल्याण मन्त्रालयको तथ्यांकले प्रष्ट्याएको छ । जसमध्ये पहिलो स्थानमा धनुषा जिल्ला रहेको छ । धनुषाबाट आर्थिक वर्ष २०६६ देखि २०७९ सम्म २ लाख १६ हजार १२२ जना विदेशिएका छन् ।

दोस्रो स्थानमा रहेको महोत्तरी जिल्लाबाट यसअवधिमा १ लाख ९६ हजार ८९५ युवा विदेशिएका छन् । तेस्रो स्थानमा सिरहा रहेको छ यस जिल्लाबाट विदेशिने युवाहरूको संख्या १ लाख ७८ हजार २३५ छ भने चौथो स्थानमा रहेको सप्तरीबाट १ लाख २७ हजार १४८ युवाहरु विदेशिएका छन् । सर्लाही र रौतहट क्रमशः पाँचौ र छैठो स्थानमा रहेको छ ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षमा मात्रै धनुषाबाट भदौ महिनामा सबैभन्दा बढि ४३ सय २२ जना विदेशमा श्रम बेच्नका लागि गएका छन् ।  घरपरिवार छाडेर अर्थउपार्जनकै लागि विदेशिन बाध्य भएका अधिकांश आप्रवासनमा जानेहरूको घर परिवारमा मनोसामाजिक समस्या, बालबालिकाहरू विद्यालय नजाने समस्या, घरमा झैंझगडा, ऋणको कारण घरबारविहीन हुनुपर्नेलगायतका सामाजिक र मानसिक कठिनाइहरु भोग्न परेको सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्दै आएको संस्था सुरक्षित आप्रवासन केन्द्र धनुषाका कार्यक्रम प्रमुख सौरभ कर्ण बताउँछन् ।

‘मधेशमा अधिकांश युवाहरू मजदुरको काम गर्न खाडी मुलुक जान्छन् । प्रायः अशिक्षित युवा हुन्छन् । उनीहरूले न त राम्रो सिप सिकेका हुन्छन् नत उनीहरूलाई कामका बारेमा जानकारी हुन्छ । यस्तोमा दलालबाट ठगिको सिकार हुने र पछि ऋणको भारले घरपरिवारनै बर्बाद हुने गर्दछ,’कर्ण भन्छन्,‘हामीले यो परियोजना अन्तर्गत विदेश जाने युवाहरुलाई सूचनामा पहुँच गराउने,न्यायमा पहुँच, वित्तीय साक्षरता, सीपमा पहुँच र मनोसामाजिक परामर्श प्रदान गर्ने काम गर्छौ ।’

चालु आर्थिक वर्षमा ३२८ जना न्यायमा पहुँच नभएका युवाहरुको समस्या आप्रवासन केन्द्रलाई प्राप्त भएको र त्यसमध्ये ११८ जनाको समाधान भइसकेको कर्णले जानकारी गराए । अन्यकोमा प्रयास जारी रहेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त भएका ५३ जनाको समस्यामा १३ जनाको समाधान भईसकेको र अन्यको हकमा प्रयास जारी रहेको जनाईएको छ ।

केन्द्रले धनुषामा गन्तव्य मुलुकबाट उद्दार र सम्पर्कविहीन भएको ६९ वटा समस्या प्राप्त गरेकोमा ४२ जनालाई मुलुक फर्काउन सफल भएको छ भने शव व्यवस्थापनमा १५ जनालाई सहजीकरण गरेको छ ।  मनिका झा अन्नपुर्णपाेष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here