सात बर्ष बित्दा पनि बनेन धाप्लाङघाटमा पुल

56

खोटाङ । खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाटमा पुल निर्माणको लागि ठेक्का लागेको ७ वर्ष भयो । ठेक्का सम्झौता अनुसार पुल निर्माण भएको भए यतिबेला पक्की पुलबाट सवारीसाधन वारिपारि गर्ने थिए ।

तर, हालसम्म धाप्लाङघाटमा नदीको दुई किनारमा पिलर ठड्याएको छ । चार वटा बेल फाउण्डेसन उठाउनुपर्नेमा एउटा मात्र फाउण्डेसन उठाएको छ ।

खोटाङको बराहपोखरी गाउँपालिका-२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोसीको धाप्लाङ घाटस्थित पक्की पुल निर्माण लागि २०७३ साल असार ३० गते रसुवा एसएनएस पप्पु जेभीलेले ठेक्का सम्झौता गरेको थियो । भ्याट बाहेक २२ करोड ५० लाखमा २०७६ साल असार २९ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

पुल निर्माण सुरु गरेर गायब भएको ठेकेदारको पर्खाइमा नागरिक बसेका छन् । तर, ठेक्का सम्झौता भएको ७ वर्षपछि अहिले ठेकेदार पुलको डिजाइन परिवर्तन गर्न माग गरेको छ । पटक पटक थपिएको पुलको म्याद आगामी असार २६ गते सकिंदैछ । दुई सय मिटर लम्बाई हुने पुलको यतिबेला डिजाइन ‘रिभ्यु’ गर्न लागिएको छ ।

बेल फाउण्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको धाप्लाङघाटमा फाइल फाउण्डेसन प्रविधिको पुल निर्माण गर्ने गरी डिजाइन ‘रिभ्यु’को प्रक्रिया अघि बढाइएको विभाग पुल सेक्टर धरान, सुनसरीका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताउनुभयो । बेल फाउण्डेसन प्रविधिको पुल निर्माण गर्न कठिन र ढिलासुस्ती भएको भन्दै निर्माण व्यवसायीको आग्रहमा पुलको रिभाइज्ड डिजाइन एण्ड ड्रईङ पेस गरिएको भण्डारीको भनाइ छ ।

धाप्लाङघाटमा खोटाङ र उदयपुर दुबैतर्फ वर्षौँअघि कच्ची सडक खनिएको छ । तर पक्की पुल नहुँदा गाडी वारपार गर्ने अवस्था छैन । मोटरसाइकल झोलुङ्गे पुलबाट वारपार गर्ने गरेको छ । पूर्वी सहरसँग जोडिन धाप्लाङघाटमा पुल निर्माण भएपछि खोटाङको बराहपोखरी, जन्तेढुंगा र खोटेहाङ गाउँपालिका र भोजपुरका केही स्थानीयको जीवनशैली फेरिने आशा गरिएको थियो । तर ठेकेदारले पुल अलपत्र पार्दा नागरिकमा निराशा छाएको छ ।

पुल नबन्दा नाकाबन्दीमा बस्न बाध्य भएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताउनुभयो । पालिकामा बाहिरबाट ल्याउने सामान ढुवानी महङ्गोहुँदा मूल्य महँगो भएको र स्थानीय उत्पादनलाई पनि बाहिर निर्यात गर्न कठिन भएको उहाँको गुनासो छ ।

२०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उक्त धाप्लाङघाट पुल र भोजपुरको आमचोक गाउँपालिका र उदयपुरको रानीटार जोड्ने पुल एकै दिन शिलान्यास गर्नुभएको थियो । ५० करोड १४ लाख ६० हजारको लागतमा पुरा गर्नेगरी रसुवा एसएनएस पप्पुले एउटै ठेक्कामार्फत जिम्मा लिएको दुवै पुल अलपत्र छन् ।

ठेकेदारको चार करोड ४२ लाख जमानत जफत  

यसैबीच, धाप्लाङघाट पुल निर्माणको काममा ढिलासुस्ती गर्ने ठेकेदारको एडभान्स पेमेन्ट ग्यारेन्टी (अग्रिम भुक्तानी जमानत) चार करोड ४२ लाख तानिएको छ । रसुवा एसएनएस पप्पु जेभीकोतर्फबाट अग्रिम भुक्तानी जमानत जारी गर्ने सनराइज बैङ्क लिमिटेड, गौरीधारा, काठमाडौंबाट सो पेस्की रकम तानिएको इन्जिनियर भण्डारीले बताउनुभयो ।

लामो समय पुल अलपत्र पारेपछि खोटाङ प्रदेश सभा ‘ख’ का सांसद तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले पटक पटक कार्यालयलाई दबाब दिएर ठेकेदारको जमानत जफत गर्न लगाएको बताउनुभयो । ठेकेदारले सम्झौता अनुसार कार्यसम्पादन नगरेको भन्दै सडक विभाग पुल सेक्टर धरानले हप्ता दिनभित्र राष्ट्रिय वाणिज्य बैङ्क इनरुवा, सुनसरीमा रहेको कोष तथा लेखा नियन्त्रकको कार्यालय इनरुवाको धरौटी खातामा अग्रिम भुक्तानी जमानत जम्मा गर्न २०७९ फागुन २५ गते र माघ २६ गते बैङ्कलाई पत्राचार गरेको थियो ।

पेस्की रकम जम्मा गर्न आलटाल भइरहेको पाइएपछि सनराज बैङ्क र नेपाल राष्ट्र बैङ्कमा पुगेर पटक–पटक दबाब दिनु परेको सांसद राईको भनाइ छ । समयमै काम नगरी खोटाङलाई पछि पार्न खोजेकाले ठेकेदारलाई धरौटी रकम जफत गरेर दण्ड दिएको राईले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here