कांग्रेसले स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिको मूल्यांकन गर्ने तयारी

71

काठमाडाैं । नेपाली कांग्रेसले पार्टीबाट टिकट पाएर स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिको मूल्यांकन गर्ने तयारी गरेको छ।

वडा सदस्य, वडाध्यक्ष, गाउँपालिका प्रमुख र उपप्रमुख तथा नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख र उपप्रमुखको मूल्यांकन गर्ने विधि बनाउने काम अन्तिम चरणमा पुगेको छ।

‘कांग्रेसबाट टिकट पाएर निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको मूल्यांकन गर्न विधि बनाउने काम अन्तिम चरणमा पुगेको छ,’ महामन्त्री गगन थापाले भने, ‘वडाध्यक्ष र मेयरलगायतलाई सहजीकरण गर्छौं, प्रशिक्षित गर्छौं, बलियो बनाउँछौं। सँगसँगै उनीहरूको मूल्यांकन गर्ने पद्दती पनि अब सुरू हुन्छ।’

जनप्रतिनिधिले गर्दै आएका कामकारबाहीबारे कांग्रेसले जनतासँग र सम्बन्धित पालिकाका कार्यकर्तासँग सोधेर मूल्यांकन गर्ने तयारी गरेको छ। २०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट टिकट पाएका ३२९ जनाले पालिका प्रमुख जितेका थिए।

साथै अब हुने चुनावमा टिकट वितरण पनि नेताहरूले भनेर नभई जनताकै छनौटलाई प्राथमिकता दिने गरी काम अघि बढाइएको थापा बताउँछन्।

‘कांग्रेसबाट टिकट पाएर मेयर भएको व्यक्तिलाई अर्कोपटक मेयर उम्मेदवार बनाउने कि नबनाउने अब दाइले भनेर हुनेवाला छैन। मतदाता र जनताले भन्नुपर्छ,’ थापाले भने, ‘मतदातालाई सोध्ने फ्रेमवर्क बनाएका छौं। मतदातालाई सोध्छौं, बुझ्छौं। के यो मानिसलाई पुन: मेयर र पुन वडाध्यक्षमा देख्न चाहनुहुन्छ? देख्न चाहन्छु भन्ने जवाफ आयो भने मात्र उक्त व्यक्तिले पुन: टिकट पाउँछ, नत्र पाउँदैन।’

उनले पार्टीभित्र कसैले भनेकै आधारमा अब टिकट नदिइने पनि बताए। ‘दाइको होस् कि दिदी-भिनाजुको मानिस होस् जनताले हुन्न भनेमा टिकट दिइँदैन,’ उनले भने, ‘यस्तो पद्दती विकास गर्न सकियो भने मात्र पार्टी जनतामुखी हुन्छ, नेतामुखी हुन छाड्छ।’

कांग्रेसमा अहिले पार्टीभित्रै संरचना संसदीय बोर्डले टिकट दिने विधानको व्यवस्था छ। तर संसदीय बोर्डले भन्दा पनि नेताहरूले आफ्ना गुटका व्यक्तिलाई छानिछानि टिकट दिने गरेको गुनासा आउने गर्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here