भारत भ्रमणबारे विरोध गर्नु उचित होइनः प्रधानमन्त्री

48

बुधवार राष्ट्रिय सभा बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले भारतसँग गरेका सहमतिका लागि राष्ट्रिय एकता प्रर्दशन गर्न पनि सबै पार्टीलाई आग्रह गरे ।

उनले आफूले भारतीय पक्षसँग कालापानी क्षेत्र साट्ने प्रस्ताव नगरेको पनि बताए । बरु बङ्गलादेश जाने बाटोको विकल्पबारे पनि नेपालका केही बुद्धिजीवीहरूले छलफलमा ल्याएको कुरा आफूले नेपाली पत्रकारहरूसँगको कुराकानी गरेको उनको स्पष्टीकरण थियो ।

उनले भने, ‘मेरो भारत भ्रमणलाई लिएर के सत्तापक्ष, के प्रतिपक्ष, नागरिक समाज सबैले मलाई बधाई दिन्छन् भनेर सोचेरै आएको थिएँ । स्वागत भव्य हुन्छ भन्ने लागेको थियो । किनभने नेपालको इतिहासमा केही युगान्तकारी काम भएका छन् । उत्पात भयो भन्ने मेरो दाबी होइन । तर एउटा नयाँ सुरुवात भयो । नेपाल समृद्ध हुने ढोका खोलियो । यसमा त हामीले खुसी पो व्यक्त गर्नुपर्छ त । त्यस कारण म माननीय सदस्यहरूलाई गम्भीरतापूर्वक अनुरोध गर्न चाहन्छु– यो बेला बलियो राष्ट्रिय एकताको प्रदर्शन गर्ने हो । ठिक भएको छ । अझ ठिक हुनुपर्छ । भएका सहमति ठिक ढङ्गले कार्यान्वयन हुनुपर्छ । त्यस कारण यसमा अनावश्यक सकी नसकी विरोध गर्नुपर्ने, कनिकुथीको तरिका अपनाउनु उचित छैन ।’

प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक दुई देशबीचको सीमा समस्या समाधान गर्ने भनेर दिएको सार्वजनिक अभिव्यक्ति नेपालका लागि ठूलो कुरा भएको बताए । उनले आफूले भारत भ्रमणका क्रममा देशको समृद्धिका लागि नयाँ ढोका खोलेको दाबीसमेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here