एमएच३७० बारे ठट्टा : कमेडियनलाई खोज्न मलेसियाले माग्यो इन्टरपोलको सहयोग, सिंगापुरले माफी माग्यो

90

न्यूयोर्क । हराइरहेको मलेसियन एयरलाइन्सको एमएच३७० विमानबारे ठट्टा गर्ने न्यूयोर्कमा रहेकी एक कमेडियनलाई खोज्न मलेसियाले इन्टरपोलको सहयोग मागेको छ । सिंगापुरमा हुर्किएकी अमेरिकी नागरिक जोसेलिन चीयामाथि उत्तेजना फैलाउने तथा आपत्तिजनक अनलाइन कन्टेन्टसम्बन्धी कानुनअन्तर्गत छानबिन भइरहेको प्रहरीले जनाएको हो ।

गत हप्ता अनलाइनमा पोस्ट भएको उनको कन्टेन्टपछि मलेसियाले औपचारिकरुपमा आपत्ति जनाएको थियो भने सिंगापुरले यस विषयमा माफी नै मागेको थियो । सन् २०१४ को मार्चमा क्वाललम्पुरबाट उडेको एमएच३७० विमान बीच बाटोमा नै हराउन पुगेको थियो । समुद्रमा चार वर्ष खोज्दा पनि विमानको मुख्य भाग फेला पर्न सकिएन । विमानमा सवार सबै २३९ जना यात्रुलाई मृत मानिएको छ । मंगलबार मलेसियाको प्रहरी प्रमुख अक्रिल सानी अब्दुल्लाह सानीले इन्टरपोललाई पत्र लेखेर चीयाको ‘पूर्ण विवरण’ र ‘पछिल्लो उपस्थिति’ बारे जानकारी माग गरिने जनाए ।

हालै म्यानह्याटनको कमेडी सेलर भेन्यूमा गरेको प्रस्तुतिको क्लीप सामाजिक सञ्जालमा अपलोड गरेपछि यो विवाद सुरु भएको हो । भिडियोबारे आलोचना सुरु भएपछि टिकटकले उक्त भिडियो हटाएको छ ।

मलेसियाका लागि सिंगापुरका राजदूतले चीयाले सिंगापुरको भावनालाई प्रतिनिधित्व नगर्ने जनाएका छन् भने सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृष्णनले चीयाको भनाइको भर्त्सना गरे ।

आइबार चीयाले सीएनएनसँग कुराकानी गर्दै आफूले उक्त ‘जोक’ १ सय पटकभन्दा बिना कुनै समस्या प्रयोग गरेको स्पष्टीकरण दिएकी थिइन् । उनले सो क्लिपलाई बिना कुनै प्रसङ्ग तानिएको र आफू त्यसको पक्षमा उभिने पनि जनाइन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here