भारतका प्रधानमन्त्रीको राजकीय भ्रमण, भारत–अमेरिका व्यापार सम्बन्धमा काम गर्ने अवसर

48

वासिङ्टन डीसी। अमेरिकी प्रतिनिधि अमी बेराले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिका भ्रमण अमेरिका र भारतबीचको व्यापारिक सम्बन्धका लागि काम गर्ने अवसर हुने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री मोदीले आगामी जुन २१ देखि जुन २४ सम्म अमेरिकाको राजकीय भ्रमण गर्नुहुनेभएको छ । भ्रमणका क्रममा उहाँले दोस्रो पटक अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ ।

बाइडेन र अमेरिकी प्रथम महिला जिल बाइडेनले जुन २२ मा ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीलाई राजकीय रात्रिभोजका लागि स्वागत गर्नेछन् ।भ्रमणबारे एएनआईसँग कुरा गर्दै अमी बेराले भन्नुभयो, “मलाई लाग्छ अहिलेको समयको यो महत्वपूर्ण भ्रमण हो । तपाईंले अमेरिका–भारत सम्बन्ध बढ्दै गएको देख्नुभएको छ । पक्कै पनि, एसियाभित्र भूराजनीतिक चुनौती छन् र त्यसपछि भारत पनि उदीयमान आर्थिक शक्ति हो । त्यसैले मलाई लाग्छ अमेरिका–भारत व्यापार सम्बन्धमा काम गर्ने अवसर छ ।”

उहाँले थप्नुभयो, “हामी आपूर्ति शृङ्खला र महामारीबाट बाहिर आउने बारेमा धेरै कुरा गर्दैछौं । मलाई लाग्छ, दुई देशबीच मिलेर विकास गर्ने वास्तविक अवसर छ । दुई देशबीचको रक्षा साझेदारीका बारेमा सोधिएको प्रश्नको जवाफमा अमेरिकी सांसदले प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणबाट ठोस कुरा बाहिर आउनुपर्ने र प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा त्यसबारे छलफल हुने सम्भावना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो भ्रमणबाट पक्कै पनि केही ठोस कुरा हुनुपर्छ । मलाई लाग्छ डिफेन्स स्पेस तीमध्ये एक हुनेछ । हेलिकोप्टरको सह–उत्पादन, अधिक समुद्री साझेदारी तथा लामो समयदेखि सहकार्य गर्दै आएका सबै कामहरूको लेखा जोखा हुनेछ ।” उहाँले समग्र साझेदारीहरूमध्ये केहीलाई गति दिने यो वास्तविक अवसर हो र यसबाट निस्कने केही ठूला परिणाम छिट्टै सार्वजनिक हुने र यसबाहेक आपूर्ति शृङ्खला क्षेत्रमा पनि केही महत्त्वपूर्ण काम हुने बताउनुभयो । रासस/एएनआई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here