आईसीसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन

73
HARARE, ZIMBABWE - JUNE 18: Aasif Sheikh and Kushal Bhurtel bump gloves as they prepare to bat prior to the ICC Men's Cricket World Cup Qualifier Zimbabwe 2023 match between Zimbabwe and Nepal at Harare Sports Club on June 18, 2023 in Harare, Zimbabwe. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा नेपाल घरेलु टोली जिम्बावेलाई जितका लागि दुई सय ९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

हरारे स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ९० रन बनाएको हाे । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ९९ रन बनाउनुभयो ।

 

कुशलले ९५ बलमा १३ चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । अर्का ओपनर आशिफ शेखले ६६ रन बनाउनुभयो । कुशल र आशिफले पहिलो विकेटका लागि एक सय ७१ रनको कीर्तिमानी साझेदारी गर्नुभयो । यो एकदिवसीयमा नेपालको हालसम्म्कै उच्च साझेदारी हो ।

यसअघि एकदिवसीयमा नेपालका लागि सर्वाधिक साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले एक सय ३९ रनको साझेदारी गर्नुभएको थियो ।

यस्तै कुशल मल्लले ४१, कप्तान रोहित पौडेलले ३१, गुलसन झाले १३, आरिफ शेखले १०, दीपेन्द्रसिंह ऐरीले ६ र करण केसीले दुई रन बनाउनुभयो । भीम सार्की पहिलो बलमै आउट हुनुभयो ।

बलिङमा जिम्बावेका रिचार्ड नगरभाले चार विकेट लिनुभयो । विलिङटन मासाकाड्जाले दुई तथा टेन्डई चतरा र ब्लेसिङ मुजाराबानीले एक एक विकेट लिनुभयो ।

जिम्बावेविरुद्ध आजको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल पनि हो । नेपालले जिम्बावेसँग यसअघि एउटा मात्र ५० ओभरको खेल खेलेको छ ।

सन् २०१८ मा जिम्बावेमै खेलेको विश्वकप छनोट खेलमा नेपाल जिम्बावेसँग एक सय १६ रनले पराजित भएको थियो । त्यतिबेला नेपालको ओडिआई मान्यता नरहेकोले लिस्ट  ‘ए’ मान्यताको खेल भएको थियो ।


विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपालले समूहको दोस्रो खेल असार ५ गते अमेरिका, असार ७ गते वेस्ट इन्डिज र असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स छन् ।

छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने एक दिवसीय  विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।

जिम्बावेविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here