कांग्रेस-एमालेलाई दबाबमा राख्न समाजवादी मोर्चा

97

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहितको प्रत्यक्ष सहभागितामा बन्ने समाजवादी मोर्चा वैकल्पिक शक्ति निर्माणमा केन्द्रित हुने भएको छ। मुलुकका दुई ठुला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेलाई टक्कर दिन वैकल्पिक शक्तिको घोषणा गर्न लागिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस), बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चा बनाउन तयार भएका हुन्। राजधानीमा सोमबार संयुक्त घोषणासभा गरेर १५ बुँदे नीतिगत प्रतिबद्धता पनि जारी गर्ने तयारी भइसकेको नेताहरूले बताएका छन्। प्रतिबद्धतापत्र तयार भइसकेको उनीहरूको भनाइ छ।

कांग्रेस र एमालेपछि संसद्मा तेस्रो बलियो शक्ति बनाउने गरी समाजवादी मोर्चा निर्माण गर्न लागिएको हो। हाललाई समाजवादी मोर्चा बनाएर अघि बढ्न खोजेका यी दलहरूबीच भविष्यमा एकतासमेत हुन सक्ने बताइएको छ। उनीहरूले यसलाई राजनीतिमा तेस्रो धारका रूपमा पनि परिभाषित गर्न खोजेका छन्।

‘मोर्चा गठनपछि संसद्मा ५४ सिट हुनेछ र मोर्चा साझा धारणासहित अघि बढ्नेछ,’ नेकपा एसका प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले भने। उनका अनुसार संसद्भित्र तीन दलको मोर्चा तेस्रो शक्ति बन्नेछ। यो शक्तिलाई हातमा नलिई कसैले पनि सरकार बनाउन नसक्ने अवस्था सिर्जना गर्न मोर्चा निर्माणमा यी दल जुटेका हुन्।

प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२, नेकपा एसका १० र जसपाका १२ सांसद छन्। यी तीन दलको मोर्चा बने सांसदको संख्या ५४ पुग्नेछ। प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल कांग्रेसका ८९ र दोस्रो ठुलो एमालेका ७८ सांसद छन्। ‘समाजवादी मोर्चाका नाममा तेस्रो धार निर्माण गरेर कांग्रेसलाई पनि यो धारबाहिर रहेर सरकार बनाउन नसक्ने र एमालेलाई पनि सरकार बनाउन कठिन बनाउने उद्देश्य राखिएको छ,’ मोर्चा गठनमा सहभागी एक नेताले भने।

जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ। ‘केन्द्रमा मात्र रहनेगरी १५ बुँदे कार्यविधि र नीतिगत प्रतिबद्धता बनाइएको छ। नेतृत्वको सवालमा आलोपालो भन्ने छ। तर अहिलेसम्म निश्चित भइसकेको छैन,’ उनले भने।

उनी नीतिगत प्रतिबद्धताको मस्यौदाकारसमेत हुन्। नेकपा एसले यसअघि नै समाजावादी मोर्चामा सहभागी हुने जनाइसकेको छ। मोर्चा गठन गर्दा तीन दलले राष्ट्रिय सभालाई पनि ध्यान दिएका छन्। मोर्चा निर्माण भएपछि राष्ट्रियसभामा यो सबैभन्दा ठुलो शक्ति हुनेछ। यी तीन दलका गरी प्रतिनिधिसभामा ५४ र राष्ट्रियसभामा उपाध्यक्षसमेत जोड्ने हो भने २६ (नत्र २५) सांसद छन्। यी तीन पार्टीको समाजवादी मोर्चा निर्माण भए यो शक्ति सरकार निर्माणमा निर्णायक हुने बताइएको छ। नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here