हरारे– जिम्बाब्बेमा जारी आईसीसी क्रिकेट विश्वकप छनौट खेलमा अमेरिकाले नेपाललाई २०८ रनको विजयी लक्ष्य दिएको छ ।
नेपाली बलरहरुले उत्कृष्ट बलिङ गरेसंगै अमेरिका ४९ ओभरमा १० विकेट गुमाउँदै २०७ रनमा समेटिएको हो ।
आजको खेलमा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक चार विकेट लिए भने गुल्सन झाले तीन विकेट लिए ।
गुल्सनले खेलको ४९ औं ओभरको चौथो तथा छैटौं बलमा दुई विकेट लि“दै अमेरिकालाई मध्यम योगफलमै समेटेका हुन् ।
आजको खेलमा नेपालका तिब्र गतिका बलर करण केसी र गुल्सन झा बाहेक दिपेन्द्र सिंह ऐरीले दुई तथा ललित राजवंशीले एक विकेट लिए ।
अमेरिकाका सयन जहाँगिरले अविजित शतक बनाएर अमेरिकालाई मध्यम स्कोरसम्म पुर्याउन सफल भए । उनीबाहेक अमेरिकाका ओपनर सुशान्त मोदानीले ४२ तथा गजानन्द सिंहले २६ रनको योगदान दिए ।
आजको खेलको प्रारम्भमा अमेरिकाले १८ रनको स्कोरमा चार विकेट गुमाइसकेको थियो । त्यसपछि गजानन्द सिंह तथा जहाँगिरबीचको साझेदारीले अमेरिका खेलमा फर्किएको थियो ।


















