लुका मोड्रिचलाई तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा नगर्न आग्रह

45

जागरेब । क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले कप्तान तथा स्टार मिडफिल्डर लुका मोड्रिचलाई तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा नगर्न आग्रह गरेका छन्।

क्रोएसियाले आइतबार युइएफए नेसन्स लिगको फाइनलमा स्पेनलाई टाइब्रेकरमा ५–४ को नतिजा सुम्पिएको थियो।

‘टोलीलाई मोड्रिचजस्ता नेतृत्व क्षमता भएको उत्कृष्ट खेलाडीको आवश्यक छ,’डालिचले भने। क्रोएसियाले २०१८ को रूस विश्वकपमा मोड्रिचको कप्तानीमा फाइनलसम्मको यात्रा तय गरेको थियो। फाइनलमा भने क्रोएसिया फ्रान्ससँग ४–२ ले निराश भएको थियो। २०२२ को कतार विश्वकपमा भने क्रोएसिया मोरक्कोलाई हराउँदै तेस्रो स्थानमा बस्न सफल भएको थियो।

क्रोएसिया अझै पनि पहिलो अन्तर्राष्ट्रिय उपाधिको खोजीमा रहेको छ र डालिच सो उपलब्धि मोड्रिचको कप्तानीमा हासिल गर्नेमा विश्वस्त छन्। स्पेनसँगको हारसँगै मोड्रिचले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने खबर सार्वजनिक भैरहँदा डालिचले भने सो कदम नचाल्न आग्रह गरेका हुन्।

‘स्पेनसँगको हारले मोड्रिच भावुक बनेका छन्। उनी क्रोएसियालाई पहिलो अन्तर्राष्ट्रिय उपाधि जिताउने संघारमा पुगेर पनि निराश भए,’डालिचले भने, ‘उनले अहिले आराम गरिरहेका छन् र पछि मात्र आफ्नो भविष्यका बारेमा निर्णय लिनेछन्।’ यसअघि आइतबार मोड्रिचले आफ्नो संनयासको बारेमा निर्णय लिइसकेको बताए पनि तत्काल मिति भने घोषणा गरेका थिएनन्।

‘म आज नै मेरो संन्यास घोषणा गर्दिनँ,’मोड्रिचले भने, ‘तर यसबारे मैले एउटा निर्णय भने लिइसकें।’सन् २००६ मा क्रोएसियाबाट डेब्यु गरेका मोड्रिचले १ सय ६६ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एएफपी

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here