हाते ट्याक्टरमा किसानको आकर्षण  

40

ओखलढुङ्गा । ओखलढुङ्गामा किसानको आधुनिक कृषि यन्त्रमा आकर्षण बढ्दै गएको पाइएको छ । यहाँका किसानले पछिल्लो समय खेत जोत्न, धान चुट्न, गहुँ काट्न, मकै छर्ने लगायतका काममा आधुनिक कृषि यन्त्र (हाते ट्याक्टर, थ्रेसर)को प्रयोग गर्न थालेका छन् ।

काम पनि चाँडो हुने तथा श्रम पनि कम खर्च हुने भएकाले किसानहरू उक्त यन्त्रप्रति बढी आकर्षित भएका हुन् । गोरुले जोत्नुभन्दा हाते ट्याक्टरले खेत जोत्न छिटो तथा सजिलो हुने भएकाले किसानको आधुनिक कृषि यन्त्रप्रति दिन प्रतिदिन आकर्षण बढ्दै गएको सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले बताउनुभयो ।

गाउँघरमा गोरु पाल्नेहरूको सङ्ख्या कमी हुन थालेको छ खेत बारी जोत्न हाते ट्याक्टर प्रति किसानको आकर्षण र माग बढेको मेयर खनालको भनाइ छ । सिद्धिचरण नगरपालिकाले चालु आर्थिक वर्षमा २१ जना किसानलाई हाते ट्याक्टर हस्तान्तरण गरेको छ ।

नगरपालिकाको कृषि विकास शाखा मार्फत मकै प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा किसानहरूलाई हाते ट्याक्टर हस्तान्तरण गरिएको हो । कृषि विकास शाखाले विनियोजन गरेको दश लाख बजेटले हाते ट्याक्टर खरिद गरेर किसानलाई हस्तान्तरण गरिएको कृषि शाखाका नायब प्राविधिक सहायक भीम बहादुर दर्जीले जानकारी दिनुभयो ।

लम्पी स्किन रोगका कारण खेत रोपाइँ गर्ने समयमा गोरु थला परेको समयमा हाते ट्याक्टर प्राप्त हुँदा किसान हर्षित भएका छन् । किसानलाई आधुनिक खेतीतर्फ आकर्षित गर्न नगरपालिकाले विभिन्न आधुनिक कृषि उपकरणहरू अनुदानमा उपलब्ध गराउँदै आएको छ ।  गोरखापत्र अनलाइन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here