दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान वितरण

37

चितवन ।चितवनको कालिका नगरपालिकाले पालिकाभित्रका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । किसानलाई थप दूध उत्पादनका लागि प्रोत्साहनस्वरुप प्रति लिटर रू एकका दरले अनुदान वितरण गरेको हो ।

नगरपालिकाले नगरभित्रका सात दुग्ध सहकारी तथा दुई व्यक्तिगत फार्मलाई उत्पादनका आधारमा रू ३४ लाख ४७ हजार छ सय ९३ बराबरको चेक हस्तान्तरण गरिएको नगर प्रमुख विनोद रेग्मीले बताए । उनका अनुसार अनुदान रकम पाउने दुग्ध उत्पादक सहकारी संस्थाहरुमा पदमपुर, मनकामना, कञ्चन, नवमिलिजुली, उत्थान, सामुदायिक र भटेनी सहकारी संस्था लि रहेका छन् ।

यस्तै व्यक्तिगत फार्म सञ्चालन गरेका किसानमा कान्छी मगर र कृष्णप्रसाद घिमिरेले अनुदान रकम प्राप्त गरेको रेग्मीले बताए । चार वर्षदेखि नगरभित्रका दुग्ध बिक्री गर्ने किसानलाई नगरपालिकाले दूधमा उत्पादनका आधारमा अनुदान दिँदै आएको छ । यसअघि वार्षिक १० हजार लिटर भन्दाबढी दूध बिक्री गर्ने किसानलाई रू २५ हजारका दरले अनुदान दिँदै आएको थियो । यस वर्षदेखि दूध उत्पादनको आधारमा अनुदान वितरण थालिएको नगर पशु सेवा शाख प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार नगरपालिकाले कार्यविधि बनाएर दूधमा अनुदान दिन थालेको हो । दूध उत्पादन गरी सहकारी संस्थामार्फत बिक्री गर्ने किसान-व्यवसायीलाई प्रदेश अनुदानमा थप गरी दुग्ध उत्पादनतर्फ आकर्षण बढाउने नगरपालिकाको मुख्य योजना रहेको छ ।

अनुदान वितरण कार्यक्रममा नगर प्रमुख रेग्मीले किसानलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरिएको बताए । राम्रो दूध उत्पादनका लागि किसानले आहाराको रुपमा घाँसलाई प्राथमिकता दिन उनले सुझाव दिए । ‘दाना चोक्कर खुवाएर भन्दा घाँस खुवाएर दूध उत्पादन राम्रो हुन्छ’, नगर प्रमुख रेग्मीले भने, ‘दूध उत्पादनका आधारमा दिइएको अनुदानका कारण गत वर्षभन्दा यसवर्ष दूध उत्पादनमा वृद्धि भएको छ ।’

कार्यक्रममा नगर उपप्रमुख विमला तमाङले किसानको समस्यालाई सम्बोधन गर्न थोरै रकम भए पनि अनुदानस्वरुप दिन पाउँदा खुशी लागेको बताइन् । उनले आगामी दिनमा अनुदान रकम थप गरेर किसानका विषयमा सम्बोधन गर्न नगरपालिका लाग्ने प्रतिबद्धता जनाइन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here