काठमाडौं । श्रम स्वीकृति लिएर कुवेत र जोर्डन जान लागेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले शंकास्पद भनी फर्काइदिएपछि वैदेशिक रोजगार विभागले असन्तुष्टि जनाएको छ ।
गत असार २४ गते कुवेत र जोर्डन जान लागेका १५६ जना कामदारलाई अध्यागमन कार्यालयले रोकेको थियो । यसबाट आफूहरुले क्षति व्यवहोर्नुपरेको भन्दै म्यानपावर व्यवसायीहरु सरकारबाट क्षतिपूर्ति माग गरेका थिए ।
विभागका निर्देशक गुरुदत्त सुवेदीले जारी गरेको विज्ञप्तिमा गलत स्थान वा गलत कागजातका आधारमा वैदेशिक रोजगारमा पठाएमा वैदेशिक रोजगार ऐन बमोजिम क्षतिपूर्ति, जरिवाना तथा कैद सजायँको समेत व्यवस्था हुँदाहुँदै अध्यागमन कार्यालयबाट फिर्ता पठाउनु मनासिव नरहेको उल्लेख छ ।
अध्यागमनले यसबारे छानबिन गर्न समिति गठन गरे पनि वैदेशिक रोजगार विभागले, गृह मन्त्रालय र श्रम मन्त्रालय अन्तर्गतको संयुक्त छानबिन समिति गठन गरी स्वतन्त्रतापूर्वक छानबिन गर्न अनुरोध समेत गरेको छ ।
हेर्नुहोस् वैदेशिक रोजगार विभागले जारी गरेको विज्ञप्ति-


















