साउनमा हरियो चुरा र मेहन्दीको धार्मिक महत्त्व

34

काठमाडौं । साउन अर्थात् विभिन्न रङ्ग समायोजनको महिना । साउनमा अधिकांश महिलाका हातमा मेहन्दी र रातो, हरियो, पहेँलो चुराले सजिएको हुन्छ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्त्वको महिना मानिन्छ ।

नेपाली महिलाले साउनको हरेक सोमबार भगवान् शिवको आराधना वा व्रत बसेर पनि मनाउने गर्छन् । पछिल्लो समय फेसन बनेको हरियो चुरा, हरियो पहिरन, मेहन्दी लगाउनुको पछाडि धार्मिक महत्त्व रहेको विश्वास गरिन्छ ।

साउन महिना धार्मिक, सांस्कृतिक एवम् प्राकृतिकसहित हरेक दृष्टिकोणले महत्त्वपूर्ण रहेकाले यो महिनाभरि धेरै महिला हरियो चुरा र मेहन्दी लगाउने चलन रहेको संस्कृतिविद् जगमान गुरुङ बताउनुहुन्छ ।

“हरियो रङ्गलाई धर्मशास्त्रले सौभाग्यको रङ्ग भनेर वर्णन गरेको छ । भगवान् शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर भएका कारण यो महिनामा हरियो रङ्गको विशेष महत्त्व हुन्छ” संस्कृतिविद गुरुङले भन्नुभयो, “साउनमा हरियो लगाउँदा शिव भगवान खुसी हुने धार्मिक विश्वासका कारण हरियो रङ्ग लगाइन्छ ।”

संस्कृतिविद् गुरुङका अनुसार साउनमा हरियो र पँहेलो रङ्गको चुरा र मेहेन्दी लगाउने चलन भारतको राजस्थानबाट भित्रिएको हो । “नेपालमा यो चलन थिएन । साउनमा नेपालमा भने महिलाले हातमा चिउरी लगाउने चलन थियो,” उहाँले भन्नुभयो, “चिउरी एक फूल हो, जसको पात पिसेर परेवाको विष्टा मिसाएर हातमा रातभरि लगाएर छोप्ने चलन थियो । भोलिपल्ट रातो हुन्थ्यो । मेहन्दी लगाउने चलन थिएन । यो आयातित संस्कृति हो ।”

साउन महिनालाई हरियाली महिना पनि भनिन्छ । महिला प्रजननशील, उर्वरशील होस् भनेर यो चलन बसाइएको उहाँको भनाइ छ ।

व्रतको सांस्कृतिक महत्त्व
उहाँका अनुसार साउन महिनामा सूर्य कर्कट राशीमा बस्छ, कर्कट राशी भनेको चन्द्रमाको घर हो । चन्द्रमा भनेको जलतत्त्व हो । उहाँले भन्नुभयो, “सोमबारलाई चन्द्रमाको बारको रुपमा लिइन्छ । त्यसकारण साउनको सोमबारको दिन शिवलाई जलले स्नान गराउने गरिन्छ । किनभने भगवान् शिव स्नानतुल्य हुनुहुन्छ ।”

उहाँका अनुसार स्वास्थ्यलाभ भएपछि राम्रो श्रीमान् पाउने मान्यता रहेको कारण नेपालका अविवाहित नारीले साउन महिनामा शिवको व्रत बस्ने गर्छन् । विवाहित महिलाका हकमा भने साउनमा शिवको व्रत बस्दा श्रीमानबाट शारीरिक र मानसिक सुख र आर्थिक सुख प्राप्त हुने धार्मिक मान्यता छ ।

यस्तै, विगत पाँच वर्षदेखि शृङ्गारका सामग्रीको व्यापार गर्दै आउनुभएका सञ्जयले यस साउनमा विशेषगरी माला र काँचका चुराहरुको धेरै व्यापार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “साउनको महिना सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ । विवाहित र अविवाहित दुवैले साउनको महिना श्रद्धाका साथ मनाएको पाइन्छ ।”

हरियो रङ्ग प्रेम र वातावरणको प्रतीक मानिन्छ । आजका नारीहरुले फेसनको रुपमा चुरा र मेहन्दी लगाउने कारणले साउन महिनामा व्यापार थप राम्रो हुने उहाँको अनुभव छ । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here