भाषा संरक्षणमा सहयोग हुन्छ : मुख्यमन्त्री पाण्डे

45

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भाषा, संस्कृति, कला र सङ्गीतको संरक्षणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा शनिबार पोखरामा आयोजित अन्तक्र्रियामा उहाँले  गण्डकी प्रदेश सरकार आफ्नै आम्दानीको भरमा सरकार चलाउन सक्ने अवस्थामा नरहेको र सङ्घबाट आउने अनुदानसमेत घट्दा गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेट घटाउनु परेको बताउनुभयो । उहाँले भन्नुभयो “बजेटकै कारण प्रतिष्ठानका कार्यक्रममा अवरोध आउँदैन । ”

नेपालका प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्ने जनाउँदै उहाँले मुलुकलाई सङ्घीयतामा लगे पनि केन्द्रीकृत मानसिकता अझै तोड्न नसकिएको बताउनुुभयो । “हामीले परिवर्तन त गर्याँै तर केन्द्रीकृत मानसिकता अझै तोड्न सकेका छैनौँ, सोही कारण प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्छ”, उहाँले भन्नुुभयो । केन्द्र, प्रदेश र स्थानीय तहका प्रज्ञा प्रतिष्ठानले गर्ने कार्य दोहोरिन नहुनेमा उहाँको जोड थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले गण्डकी प्रतिष्ठानको फोरमलाई उपयोग गरेर देशभर सन्देश छर्न पाएको बताउनुुभयो । नयाँ नेपालको मूल्य मान्यताअनुसार प्रज्ञा प्रतिष्ठानलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । केन्द्रका प्रज्ञा प्रतिष्ठानले नयाँ नीति निर्माणको काम गर्ने र  प्रदेश र स्थानीय तहका प्रतिष्ठानले सशक्तीकरणको काम गर्नुपर्नेमा उहाँले जोड दिनुुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अवसरको सदुपयोग गर्दै चुनौतीको सामना गर्दै प्रज्ञा प्रतिष्ठानहरू अगाडि बढ्नुपर्ने बताउनुुभयो । नेपाल सङे्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त श्रेष्ठले पुराना कुरालाई बिर्सेर सबै प्रज्ञा प्रतिष्ठान मिलेर के गर्न सक्छौँ र के गर्नुपर्छ भन्ने कुराको चिन्तन प्राज्ञिक भेलाले गर्नुपर्ने बताउनुुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, उपकुलपति गोरे गुरुङ, सदस्यसचिव मनकुमार श्रेष्ठलगायतले प्रज्ञा प्रतिष्ठानहरूबीच सहकार्य गर्दै अघि बढ्नुुपर्नेमा जोड दिनुुभयो ।

नेपालका प्रज्ञा प्रतिष्ठानबीचको अन्तक्र्रियामा गण्डकीसहित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, मधेस प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सहभागिता छ । अन्तक्र्रियाको निष्कर्षसहितको ‘प्रज्ञा पोखरा घोषणापत्र’ सार्वजनिक गरिने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले बताउनुुभयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here