काठमाडौं । विश्वकप विजेता स्टार गोलरक्षक जियानलुइजी बुफोनले फुटबल करिअरबाट सन्यास लिएका छन्। इटालियन खेलाडी बुफोनले फुटबल करिअरबाट बिदा लिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। ‘तपाईंहरुले मलाई सबैथोक दिनुभयो। मैले तपाईंहरुलाई सबै दिएँ। हामीले यो सँगै गर्यौं,’ उनले लेखेका छन्। इटालीको ‘बी’ डिभिजनको क्लब पार्माबाट उनको व्यावसायिक फुटबल करिअर सुरुवात भएको थियो। nimb करिअरको अन्त्य पनि उनले पार्माबाटै गरे। उनको सम्झौता सन् २०२४ सम्म रहे पनि चोटका कारण यसअघि नै सन्यास लिए। बुफोन पार्माबाट सन् १९९५ बाट युभेन्टसमा आबद्ध भएका थिए। त्यतिबेला उनी गोलरक्षकका लागि विश्व कीर्तिमान रकम ३२.६ मिलियन पाउण्डमा आबद्ध भएका थिए।
बुफोनले सिरी एमा ६५७ क्याप खेले। इटालीका लागि पनि सबैभन्दा बढी गोलरक्षकको क्याप उनकै नाममा छ। उनले इटालीका लागि १६७ क्याप खेलेका छन्। इटाली विश्वकपमा छनोट हुन नसकेपछि उनले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए। पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै सन् २००६ मा इटालीले उपाधि जित्दा बुफोन नायक बनेका थिए। योसँगै उनको नाममा १० सिरी ए टाइटल र १ लिग वान टाइटल छ।

















