काठमाडाैं । राजपुर गाउँपालिका वडा नं ४ दुलैया निवासी लोकबहादुर रैदासको आँखा तीन दिन अघिबाट दुख्न थाल्यो। आँखा रातो हुने, पिरो हुने, कचेरा आउने, आँशु बग्नेजस्ता समस्या देखिएपछि रैदास उपचारको लागि लमही आए।
गाउँका धेरै मानिसमा आँखा पाक्ने समस्या देखिएको भनाइ उनको छ। अहिले उपचारपछि निको हुने आशामा रैदास छन्। रैदास मात्रै होइन, अहिले दाङ जिल्लामा आँखा पाक्ने रोगका बिरामी बढ्दै गएका छन्।
उपचारको लागि अस्पताल पुग्ने बिरामीको संख्या पनि बढ्दै गएको छ। ‘आँखा पिरो हुने, दुख्ने, कचेरा आउने समस्या भयो’, रैदासले भने,‘औषधी त भयो, अब निको हुन्छ कि?’
दाङमा आँखा पाक्ने रोगका बिरामी बढ्दै गएका छन्। परिवारको एक जना सदस्यलाई संक्रमण भएमा पुरै परिवारका सदस्य सबै विरामी पर्न थालेका छन्। आँखा उपचारको लागि अस्पताल पुग्ने बिरामीको संख्या ह्वात्तै बढेको छ। संक्रमण बढ्न नदिन सरसफाइ र उपचारमा ध्यान दिन आग्रह गरिएको छ।
दाङका दुईवटा आँखा अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी आँखा पोकेको रोगको उपचारको लागि पुग्ने गरेका छन्। यसरी पुग्ने बिरामीमध्ये धेरैजसो एकै परिवारका सदस्य पनि रहेका छन्। साना बालबालिकादेखि युवा र वृद्ध सबै उमेर समूहका व्यक्ति संक्रमित भएको पाइएको छ।
सरसफाइमा ध्यान नदिँदा संक्रमण फैलिन पुगेको स्वास्थ्यकर्मीको भनाइ छ। आँखामा समस्या आए जाँच गरेरमात्रै औषधी राख्न स्वास्थ्यकर्मीको सुझाव छ। जथाभावी औषधी राख्दा समस्या पर्न सक्ने भन्दै परीक्षण गरेर औषधी राख्नुपर्ने लमही आँखा अस्पतालका नेत्र सहायक लालबहादुर चौधरीले बताए।
‘आँखा चिलायो, पिरो भयो, कचेर आउन थाल्यो भने घरेलु औषधी हाल्ने, झारफुक गर्ने जस्ता काम गर्नुहुँदैन। अनिवार्य आँखा जाँच गरेर मत्रै औषधी हाल्नुपर्छ’, उनले भने, ‘जथाभावी औषधी हाल्दा आँखामा थप समस्या आउन सक्छ।’
आँखामा घाउ हुने र सामान्य आँखा पाक्ने दुई थरी समस्या देखिएकाले जाँच गरेर मात्रै पत्ता लाग्ने उनकाे भनाइ छ।
आँखा पाक्ने रोग फैलिदै जाँदा रोकथामका उपायहरू अपनाउन भने जरुरी छ। आँखा संक्रमण भएमा सकेसम्म भिडभाडमा नजाने हो भने पनि संक्रमण फैलनबाट रोक्न सकिन्छ।


















