मकवानपुर । हेटौँडाबाट काठमाण्डौ जाने छोटो दूरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा–भैँसे–भीमफेदी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको हो ।
भीमफेदी २ भैँसे बजारबाट दुई किलोमिटरको दूरीमा पहिरो खसेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, कुलेखानी–सिस्नेरी–काठमाण्डौ सडक खण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ भालुडाँडामा रहेको कुलेखानी सिस्नेरी काठमाण्डौ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । त्यस्तै, त्रिभुवन राजपथको भीमफेदी ९ लामीडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ ।
अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले बताए। त्यस्तै, कान्तिलोक पथ पनि बकैया गाउँपालिका १ आँपचौरमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । हेटौँडा काठमाण्डौ जाने यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
भारी वर्षाका कारण हेटौँडा ४ हुँदै बग्ने कर्रा खोलामा आएको बाढी बस्तीमा पसेको छ । गर्दोही क्षेत्रमा रहेका केही घर डुबानमा परेको प्रहरीले जनाएको छ । खोलामा पानीको बहाव बढ्नेक्रममा रहेकाले यस क्षेत्रमा सुरक्षित ठाउँमा जान प्रहरीले जानकारी गराएको छ । विगतमा पनि भारी वर्षातको बेला उक्त क्षेत्र डुब्दै आइरहेको छ ।
















