दुई कन्सल्टेन्सीलाई कारबाही

78

काठमाडौँ,   । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनविपरीत काम गर्ने दुई वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र दुई कन्सल्टेन्सीलाई कारबाही गरेको छ । विभागले ऐन र नीतिविपरीत अवैधानिक विज्ञापन गरेकाले ऐन अनुसार दुई/दुई लाख रुपियाँ जरिबाना गरेको हो ।

विभागले स्वीकृतिबिना सामाजिक सञ्जालको प्रयोग गरी नेपाली युवालाई वैदेशिक रोजगारमा पठाइदिने भन्दै विज्ञापन गरेको तथा राहदानी सङ्कलन गरेको आरोपमा काठमाडौँको वसुन्धरास्थित क्यापिटल रिक्रुटमेन्ट सर्भिस प्रालि र इगल म्यानपावर कन्सल्टेन्ट प्रालिलाई कारबाही गरेको हो ।

त्यस्तै विभागले ऐन अनुसार वैदेशिक रोजगारसँग सम्बन्धित विज्ञापन सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा हालेर सर्वसाधारणलाई भ्रम सिर्जना गरेको आरोपमा ललितपुरस्थित सुयान एजुकेसन प्रालि र ललितपुरमै रहेको एलाइट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एन्ड ट्रेनिङ सेन्टरमा स्थलगत अनुगमन गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

विभागले यसै सम्बन्धमा सूचना जारी गर्दै आमसर्वसाधारण युवालाई सामाजिक सञ्जालमा आउने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न अनुरोध गरेको छ । साथै विभागको स्वीकृति नलिई वैदेशिक रोजगारको प्रलोभनमा विज्ञापन प्रकाशन/प्रसारण नगर्न ध्यानाकर्षण गराएको छ ।

विभागका महानिर्देशक मदन दाहालले पछिल्लो समय वैदेशिक रोजगारको आकर्षक प्रलोभन देखाई वैदेशिक रोजगारमा ठगी गर्ने गिरोहको सक्रियता बढिरहेको गुनासो बढेपछि विभागले वैदेशिक रोजगार अन्तर्गत हुने अवैध विज्ञापन नियन्त्रणका लागि काम गरिरहेको जानकारी दिनुभयो ।   gorkha patra

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here