काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसदले तीन तहको सरकारलाई सुचारु रुपमा सञ्चालन गराउनका लागि आवश्यक संघीय कानुनहरु बनाउन नसकेको जनाएका छन्।
आइतबार नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको २७ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले संघले आवश्यक कानुनहरू निर्माण गर्ने हो भने स्थानीय तहले पूर्ण रुपमा आफ्ना काम, कारबाहीहरु अघि बढाउन सक्ने उल्लेख गरे। उनले पछिल्लो सयम युवाहरु देश छोडेर पलायन भइरहेको बारे चिन्ता व्यक्त गर्दै सरकारले युवाहरुलाई स्वदेशमै काम गरेर खाने वातावरण मिलाउनुपर्ने बताए।
उनले सरकार र सबै राजनीतिक दलहरुले यसबारेमा गम्भीर भएर सोच्नुपर्ने जनाए ।
उनले भने, ‘सरकारलाई सुचारु रुपमा सञ्चालन गर्न आवश्यक संघीय कानुनहरु जुन अभावको कारणले फुल फ्लेजिट रुपमा काम गर्न पाइरहेको छैन, त्यो गराउन हामीले संघीय विधेयक ल्याउनुपर्छ, ऐन बनाउनुपर्छ, शिक्षा ऐन बनाउनुपर्छ, तमाम यस्ता संघीय कानुन बनाइसकेपछि प्रान्तीय कानुन र स्थानीय सरकारले पनि आफ्ना कानुन बनाउन बाटो सुचारु रुपले जाने हुन्छ।’
कोशी प्रदेशमा भइरहेको आन्दोलनबारे नेता सिंहले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक देश भएको उल्लेख गर्दै सबैले बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक देश मानिसकेपछि कानुनभित्र बसेर सबैले काम गर्नुपर्ने बताए। उनले एकअर्काबीच हुने मनमुटावलाई सरकारले समाधान गरेर अघि बढ्नुपर्ने बताए।
नेता सिंहले नेपाल सबैका लागि भएकाले धर्मलाई राजनीतिसँग नजोडिकन सहअस्तित्वमा सद्भाव कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए।


















