काठमाडौं । सिमसार र जङ्गलमा खेती गरिने अलैँचीमा डढुवा रोग लागेपछि धेरैजसो बगान नै सखाप भएका छन् । अलैँचीमा एकातिर डढुवा रोगको समस्या छ भने अर्कातिर भँवरा र मौरीको सङ्ख्या घट्दा परागसेचन प्रक्रियामा समस्या हुँदा उत्पादन निरन्तर घट्दो छ ।
त्यस्ता जीवको सङ्ख्यामा कमी आएसँगै अलैँची उत्पादनमा कमी आएको आकलन गरिएको छ । जीव परागसेचनको ८० प्रतिशतभन्दा बढी परागसेचन किराहरूबाटै हुने गर्छ । किराबाट हुने परागसेचनमा पनि सबैभन्दा बढी करिब ८० प्रतिशत हिस्सा मौरीले ओगट्ने प्राडा रेशमबहादुर थापा बताउछन्।
पूर्वबाट विस्तार हुँदै मध्यपहाडी जिल्लासम्म आइपुगेको अलैँची खेतीबाट ७० हजार किसान परिवार आश्रित छन् । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–१२ का कृष्णप्रसाद हुमागाईंले वर्षको तीन लाखसम्मको अलैँची बेच्ने गरे पनि यस वर्ष तीन हजार रुपियाँको उत्पादन नभएको गुनासो गरे । उनले के रोगले बगान सखाप भयो भन्ने जानकारी पाउन नसकेको बताए ।
नेपालका अधिकांश जिल्लामा अलैँचीका बिरुवा उत्पादन गरेर बिक्री गर्दै आएका उपेन्द्र तिमल्सिनाले केही समययता अलैँची उत्पादनमा निकै कमी आएको बताए । अलैँची उत्पादनको ‘हब’ मानिएको कोशी प्रदेशका अधिकांश जिल्लाका किसानको बगान नै सखाप हुन थालेको उहाँले दाबी गर्नुभयो । ७० वर्षदेखि हुँदै आएको स्वस्थ बगैँचामा समेत ठुलो असर देखा परेको तिमल्सिनाले उल्लेख गरे । अघिल्ला वर्षको मौज्दात बाँकी रहेकाले निर्यातमा खासै फरक नदेखिए पनि आगामी वर्षदेखि अलैँची निर्याततर्फको ठुलो रकम घट्नेतर्फ सरोकारवालाले चासो देखाएका छन् । नेपालको अलैँची उच्च गुणस्तरको हुने गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।


















